वायु प्रदूषण बढ्याे, सावधानी अपनाउन आग्रह
- नेचर खबर
काठमाडौं - पछिल्लो समय देशभर वायु प्रदूषण बढेको भन्दै सावधानी अपनाउन वातावरण विभागले आग्रह गरेको छ । नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको विभागको भनाइ छ ।
'विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ। वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि रहेका छन् । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउनुहुन अनुरोध छ', विभागको सूचनामा भनिएको छ ।
वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्न ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको यथोचित नियन्त्रण गर्न विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस