गज्जब प्रधानमन्त्री ज्यू ! मान्छे खुवाएर बाघ पाल्न सकिँदैन

समाचार टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राजधानीको एउटा पाँचतारे होटेलमा रोचक भाषण गरे । त्यसो त भाषण गर्ने कलामा उनी पोख्त नै छन् । शायद उनी भन्दा अब्बल भाषणकार कोही होला, नेपालमा । जुन सुकै (राजनीतिक बाहेक) विषयवस्तुलाई पनि चाखलाग्दो बनाउन तर्क र कुतर्क दुवै प्रस्तुत गर्न माहिर मानिन्छन्, हाम्रा प्रधानमन्त्री ओली ।

कोप २९ (विवादित)को उपलब्धि समीक्षा गर्न बसेको उनीसहित आधा दर्जनभन्दा बढी मन्त्री सहभागी बैठकमा भाषणकै क्रममा उनले हौसिँदै भने, ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन ।’ त्यसो त उनले कार्यक्रममा बाघ, बाँझ, मयुर र कालिजका मात्र कुरा मात्र गरेनन् तीनको वासस्थान वन जङ्गलको अवस्था र आवश्यकतालाई पनि बढो रोचक ढङ्गले प्रस्तुत गरे । प्रधानमन्त्री ओलीले भाषण गरिरहँदा कार्यक्रमका कतिपय सहभागी बुझेर र कतिपय नबुझेर हाँसिरहेका थिए । केहीले त ताली पनि पड्काउँदै थिए ।

विगतका अधिकांश भाषणमा आलोचना खेप्दै आएका प्रधानमन्त्री ओली यो भाषणमा भने यस अर्थमा सही छन् । प्रधानमन्त्री आफैमा जनप्रतिनिधि हुन्छ । जनमतबाट निर्वाचित व्यक्तिले जनताको आवाज बोल्नै पर्छ । उनीहरूको समस्या र अप्ठेराहरू ओकल्नै पर्छ । र, यो उनको धर्म पनि हो ।

मानव र वन्यजन्तुको सहअस्तित्व खोज्नुपर्छ भन्नेहरु नै चुकेपछि वा संरक्षणको सही बाटो पहिल्याउन नसकेर अलमलिएपछि देशको कार्यकारीले गर्ने भाषण यस्तै हो । संरक्षणको अबको रोडम्याप कोर्न नसकेर बीच बाटोमै अल्मलिएकाहरु नै प्रधानमन्त्रीको भाषण सुनेर कार्यक्रममा हाँस्दै थिए । र, ताली पड्काउँदै थिए ।

समीक्षा गोष्ठीमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी थिए । राज्य मन्त्री थिइन् । वन सचिव डा. दीपककुमार खराल, थिए । वन विभागका प्रतिनिधि थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पनि हुनपर्छ । वन र वन्यजन्तु संरक्षणको जिम्मेवारी लिएर बसेका सरकारका लगभग सबै निकायका प्रतिनिधि कार्यक्रम उपस्थित थिए । जनतालाई वन्यजन्तुबाट जोगाउन सकेनौँ भन्ने हेक्का कार्यक्रममा उपस्थित ती प्रतिनिधिलाई पटक्कै भएको देखिएन ।

हामीले जनताको समस्या र मुद्दा सम्बोधन गर्न नसक्दा जनताको समस्या प्रधानमन्त्रीसँग पुग्यो । र, उनले यस्तो भाषण गर्नुपर्र्यो भन्ने मन्त्रीलगायतका पदाधिकारी कसैलाई थाहै भएन् । त्यसैले उनीहरू खित्का छोडेर हाँसिरहेका थिए । आफूहरू माथि प्रधानमन्त्रीले असफलताको पगरी भिराएको कसैले पत्तै पाएनन् । त्यसो त प्रधानमन्त्री ओलीले आफै आफैलाई व्यङ्ग्य गरेका हुन । किनकि उनका सबै संयन्त्र असफल भएपछिको परिणाम थियो, यो भाषण ।

सरकारी र गैरसरकारी सङ्घसंस्था र निकाय असफल भएकाले नै जनता वन्यजन्तुको सिकार हुन विवश छन् । सरकारी मात्र होइन, दुर्लभ वन्यजन्तुको संरक्षण कार्यमा क्रियाशील विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल), विश्व संरक्षण सङ्घ (आइयुसिएन)लगायत यस क्षेत्रमा सक्रिय थुप्रै सङ्घसंस्थाहरू कार्यरत छन् । यी सबै बिच बाटोमा अलमलिएकाले नै जनता वन्यजन्तुबाट मारिएका हुन, प्रधानमन्त्री ज्यू ।

अहिलेसम्म पनि हामी वन्यजन्तुको संरक्षणमै अलमलिएका छौँ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढाउनमै केन्द्रित छौँ । संरक्षणको उच्चतम र दिगो ‘रोडम्याप’ बनाउन भने हामी चुकिरहेका छौँ जसले गर्दा मानव र वन्यजन्तुबिचको द्धन्द उत्कर्षमा छ । बर्सेनि सयौँको सङ्ख्या मान्छेको जीवन खेर गइरहेको छ ।

हामी संरक्षित क्षेत्रको वन्यजन्तु (बाघ, गैँडालगायत)को भार वाहन क्षमताको अध्ययन गर्दैनौँ । निकुञ्ज, आरक्ष र वन क्षेत्रको क्षमता र वासस्थानको अध्ययन गर्दैनौं । वन्यजन्तुबाट मानवलाई जोगाउने नवीनतम उपायहरूको खोजी गर्न त्यत्तिकै चुकिरहेका छौँ । संरक्षणपछि के गर्ने गर्ने ? अब कता जाने ? व्यवस्थापन कसरी गर्ने र यसलाई सुरक्षित आयआर्जनको स्रोत कसरी बनाउने भन्ने स्पष्ट योजना हामीसँग छैन ।

संरक्षणको नविनतम र वैज्ञानिक रणनीति, योजना र कार्यविधि बनाउन असफल भएपछि प्रधानमन्त्रीले बाघको सङ्ख्या ३५० बाट घटाएर १५० बनाउनुपर्छ भन्ने नै भए । तर सङ्ख्या घटाएर मानव र वन्यजन्तुबिचको द्धन्द कम हुदैन् । मानवीय क्षति कम हुँदैन, प्रधानमन्त्री ज्यू । यसले त नेपालले अहिलेसम्म आर्जन गरेको पहिचान पनि गुम्न जान्छ । त्यसैले हामीले बिचको बाटो पहिचान गर्नुपर्छ । संरक्षित क्षेत्रको क्षमता अनुसार वन्यजन्तु व्यवस्थापनको स्पष्ट योजना बनाउन जरुरी भइसकेको छ ।

यति भाषण गरेपछि अब प्रधानमन्त्रीले मातहतका निकायलाई तत्काल बोलाएर फेरी पनि भन्नु पर्छ, ‘अहिलेसम्म तपाईँहरूले धेरै राम्रो काम गर्नुभयो । वन्यजन्तुको सङ्ख्या पनि बढाउनु भयो । देशलाई विश्वमा चिनाउनु भयो । अब ती वन्यजन्तुको सही व्यवस्थापन गर्नुहोस् । आयआर्जनको स्रोतका रूपमा विकास गर्नुहोस् । आइन्दा मैले यस्तो भाषण (बाघ घटाउने) गर्न नपरोस् । तपाईँहरूले मेरो यो भाषण सुनेर धेरै मनोरञ्जन गरेको मलाई अनुभव भयो, तर मैले तपाईँहरूको मनोरञ्जनका लागि यो भाषण गरेको होइन, जनताका समस्या सुन्नुहोस् भनेको हो । अबका दिनमा वन्यजन्तुको आक्रमणबाट मान्छेको मृत्यु हुनुहुँदैन ।’ उल्लेखित पङ्क्तिहरू बुझाउन बुझाउन जरुरी भइसकेको छ ।

यति गर्दा पनि बाघको आक्रमणबाट जनता मर्ने क्रम रोकिएन भने प्रधानमन्त्रीले फेरी यस्तो भाषण गर्ने दिन नआउला भन्न सकिन्न । त्यो के भने, ‘बाँदर पालेर जनता गरिब बनाउनु छैन । हामीलाई यति धेरै बाँदर किन चाहिए ।’ हो, यति बेला पनि सरोकारवाला निकायका प्रतिनिधिहरू बिहीबारकै कार्यक्रममा जस्तै हाँस्ने छन् । ताली बजाउने छन् । किनकि बाँदर पनि नेपालको अर्को ठुलो समस्या भइसकेको छ । विशेष गरी गण्डकी प्रदेश र अन्य प्रदेशमा पनि यो समस्याले विकराल रूप लिँदै छ । बाँदरले खेतीपाती गर्न नदिएर युवाहरू विदेश पलाएन भएको दुखेसो तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले बुटवलको एउटा कार्यक्रममा पोखेका थिए । एउटा अन्तर्क्रियामा मोदी गाउँपालिका पर्वतका एक स्थानीय युवा भनेका थिए, ‘बाँदरले हामीलाई गरिब बनायो ।’

संरक्षण क्षेत्रका समस्याहरू बढ्दो छन् । विशेष गरी मानव र वन्यजन्तुबिचको द्धन्द चर्किँदै गएको छ । तर सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका नेतृत्व तथा प्रतिनिधिहरू जनताका समस्या सम्बोधन गर्ने भन्दा पनि लाभको पद र कुर्सी जोगाउन राजनीतिक नेतृत्वकोको चाकडी, चाप्लुसी र वफादारीमा लिप्त छन् । अबको संरक्षण यसरी चल्दैन । प्रधानमन्त्री जनप्रतिनिधि हुन उनले बिहीबार जनताको आवाज बोलेका हुन । त्यसैले त उनले भने, ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन ।’
subodhe@gmail.com

सुबोध गौतम

प्रतिक्रिया दिनुहोस

web
analytics