चिसो सोलुखुम्बु, पाइपमै जम्न थाल्यो पानी

सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरूको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्री सेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताइन् । उनले भनिन्, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहान बेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।”

पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्ध वृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पठनपाठन प्रभावित भएको छ भने वृद्ध वृद्धालाई पनि समस्या बढेको छ”, उनले भनिन् ।

चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ । पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा. प्रशान्त शाहले बताए । उनले भने, “चिसोका कारण बिरामी धेरै वृद्धि भएको छ, आकस्मिक कक्ष त्यत्तिकै भरिभराउ छ भने शय्यासमेत खाली छैन, केही दिनअघि पनि शय्या अभावमा भुईँमा राखेर पनि बिरामीको उपचार गरिरहेका छौँ ।”

चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झनै बढी देखिएको स्थानीयले बताएका छन् । खुम्बुमा पछिल्लो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय बन्द भएको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए । अधिकांश विद्यालय बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए ।

चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधारणले खुम्बु छाडिसकेका छन् ।

उनीहरू बढी जसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायत क्षेत्रमा जाने गरेका छन् । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका अमृत मगरले बताए । उनका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् ।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेका साथै गोक्यो, काला पत्थर, एभरेष्ट बेस क्याम्पलगायत ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको नाम्चेका लामाकाजी शेर्पाले बताए । केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ । यामको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्र उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाले जनाएको छ ।

भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडोयाममा यस भेगमा एक छिन पनि बस्न नसकिने र वर्षमा छ महिना मात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

पानी आपूर्तिमा समस्या
जिल्ला सदरमुकामसहित खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमा पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेका बेला पनि जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय माया शेर्पाले बताए ।

यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । चिसोका कारण विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित बनेको छ भने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् । धारा बन्द गरेर राख्दा पानी पाइपमा जम्ने भएकाले खुला नै छाड्ने गरेको स्थानीयले बताएका छन् । बेलुका धारा बन्द हुँदा रातको समयको चिसोमा जमेको पानी घाम नलागेसम्म नपग्लिने गरेको नाम्चेका नुरु शेर्पाले बताए । -रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics