एआईले भन्छ : विश्वको तापक्रम सोचेभन्दा चाँडो बढिरहेको छ

काठमाडौं । एआईको सहयोगमा गरिएको एउटा नयाँ अध्ययनले संसारका धेरै भागहरूमा पहिले अनुमान गरिएको भन्दा छिटो तापक्रम बढिरहेको खुलासा गरेको छ ।

अध्ययनको नतिजा अनुसार सन् २०४० सम्म वा त्यसभन्दा अघि विश्वका अधिकांश भागमा तापक्रम डेढ डिग्री सेल्सियसको सीमा नाघ्न सक्नेछ । केही क्षेत्रहरूमा २०६० सम्म विश्वव्यापी तापमान ३ डिग्री सेल्सियस भन्दा बढी हुन सक्छ, जुन अघिल्लो अनुमान भन्दा धेरै चाँडो हो ।

अप्रिल २०२२ मा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले आफ्नो रिपोर्टमा शताब्दीको अन्त्यसम्ममा विश्वमा बढ्दो तापक्रम ३.२ डिग्री सेल्सियससम्म बढ्न सक्ने बताएको थियो ।

हालै वल्र्ड इकोनोमिक फोरम (डब्लुईएफ)ले सार्वजनिक गरेको ‘ग्लोबल रिस्क रिपोर्ट’ ले पनि जलवायु परिवर्तन विश्वका लागि सबैभन्दा ठूलो खतरा भएको स्वीकार गरेको छ ।

त्यस्तै विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले पनि सन् २०२३ देखि २०२७ सम्मको पाँच वर्षमा विश्वको तापक्रमको वृद्धि रेकर्ड स्तरमा पुग्ने आशंका व्यक्त गरेको थियो ।

यो नयाँ अध्ययन विश्वका तीन प्रमुख जलवायु वैज्ञानिकले गरेका हुन् । यस अध्ययनमा उनले बढ्दो तापक्रम गणना गर्न ग्लोबल क्लाइमेट मोडल र एआईको सहयोग लिएका छन् । यस अध्ययनको नतिजा जर्नल इन्भाइरोमेन्टल रिसर्च लेटरमा प्रकाशित भएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (C3S) सँग सम्बन्धित वैज्ञानिकहरूका अनुसार यो वर्ष २०२४ रेकर्ड गरिएको जलवायु इतिहासमा सबैभन्दा तातो वर्ष हुनेछ। यसअघि सन् २०२३ अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको थियो, जब बढ्दो तापक्रम औद्योगिक युगअघिको तुलनामा १.४८ डिग्री सेल्सियसले बढेको थियो।

बढ्दो तापक्रमले सन् २०२४ मा डेढ डिग्री सेल्सियसको सीमा नाघेको पनि वैज्ञानिकहरूले आशंका व्यक्त गरेका छन् । औद्योगिक स्तरमा जीवाश्म ईन्धनको प्रयोग सुरु भएदेखि यो पहिलो पटक हो कि बढ्दो तापक्रम यो सीमामा पुग्छ।

यस नयाँ अध्ययनमा वैज्ञानिकहरूले दक्षिण एसिया, भूमध्यसागर, मध्य युरोप र उप-सहारा अफ्रिकाका केही भागहरूमा तापक्रम तीव्र गतिमा बढ्ने र संवेदनशील पारिस्थितिक प्रणाली र जोखिममा परेका समुदायहरूलाई खतरामा पार्ने डर पनि व्यक्त गरेका छन्।

कोलोराडो स्टेट युनिभर्सिटीका प्रोफेसर एलिजाबेथ बार्नेस, स्ट्यानफोर्ड युनिभर्सिटीका प्रोफेसर नोआ डिफेनबग र ईटीएच-जुरिचकी प्रोफेसर सोनिया सेनेविरात्नेले उक्त अध्ययनको नेतृत्व गरेका थिए। आफ्नो अनुसन्धानमा उनले जलवायु मोडेल र अवलोकनबाट प्राप्त डाटा विश्लेषण गर्न एआई टेक्नोलोजी पनि प्रयोग गरेका छन्। यसले विशेष क्षेत्रहरूको लागि थप सटीक अनुमानहरू बनाउन मद्दत गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics