विपद् प्राधिकरण प्रमुखमा ५ जनाको भिडन्त
- नेचर खबर
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदका लागि १६ जना प्रतिस्पर्धीले राजनीतिक दौडधुप सुरु गरेका छन् । उत्कृष्ट अंक ल्याउने प्रतिस्पर्धीहरू लबिङका लागि राजनीतिक दौडधुपमा लागेका हुन् ।
पछिल्ला वर्षहरूमा प्राकृतिक विपद् र प्रकोप बढिरहेका छन् । यस्ता विपद्बाट नेपालले धेरै संख्यामा मानवीय तथा भौतिक क्षति व्यहोरिरहेको छ । यस्ता चुनौतीको सामना गर्ने प्रमुख जिम्मेवार सरकारी निकायका रूपमा प्राधिकरणलाई लिइएको छ । यसको भूमिका र आवश्यकता बढेसँगै यसको नेतृत्वप्रतिको आकर्षण पनि बढेको हो ।
प्राधिकरणमा पहिलो पटक प्रमुखको भूमिका निर्वाह गरेका डा. अनिल पोखरेलको पाँच वर्षीय पदावधि सकिएपछि यो पद रिक्त भएको हो । उक्त पद रिक्त भएपछि गृह मन्त्तालयले आवेदन खुला गरेको थियो । आवेदनमा धेरै अंक प्राप्त गरेका प्रतिस्पर्धीहरू आफ्नो नाम प्रकाशन भएसँगै राजनीतिक दल, प्रभावशाली राजनीतिक समूह तथा शक्तिकेन्द्रहरू गुहार्न थालेको स्रोतले बताएको छ ।
उत्कृष्ट समान अंक प्राप्त गर्नेहरू नै ४ जना छन् । उनीहरूबीच नै उक्त पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षमताका आधारमा भन्दा पनि राजनीतिक पहुँच र भागबन्डाका आधारमा नियुक्त गर्ने गलत प्रवृत्तिले गर्दा सक्षम उम्मेदवार फालिने र कमजोरले अवसर पाउने सम्भावना पनि त्यत्तिकै देखिन्छ । यसले गर्दा उत्कृष्ट उम्मेदवारहरूमा अन्यौलता छाएको छ ।
गृह मन्त्रालयले कार्यकारी प्रमुख छनौटका लागि गठन गरेको सिफारिस समितिले १६ उम्मेद्धारको नाम टुंगो लगाएको हो । आवेदन परेकामध्येबाट १६ जना उम्मेदवारको नाम छनोट गरेर सार्वजनिक गरिएको हो । मन्त्रालयले अनुभव, शैक्षिक योग्यता तथा तालिमलाई आधार मानेर प्रतिस्पर्धी उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ४ जना प्रतिस्पर्धीले समान अंक प्राप्त गरेका छन् । वसन्तराज अधिकारी (२४.५), सुमनकुमार कर्ण (२४.५), मन्दिप सूवेदी (२४.५), गणेशकुमार जीमी(२४.५) र पाँचौँ नम्बरमा धर्मराज उप्रेती (२३.५) छन् । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भएका कम अंक प्राप्त गर्नेहरूको नाम अर्को सूचीमा नहुने सम्भावना त्यत्तिकै छ । त्यसैले धेरै अंक प्राप्त गर्ने ५ जनाबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
आर्थिक स्रोतको पहिचान र खोजी गर्ने तथा विपद् जोखिम न्यूनीकरणमा परिचालनका लागि आवश्यकता योजना तथा परियोजना विकास गर्ने जिम्मेवारी कार्यकारी प्रमुखले निर्वाह गर्नुपर्छ । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्ने, नेपालको भूगोलसँग राम्ररी परिचित तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था वा समुदायले पत्ताउने प्राज्ञिक व्यक्ति हुनुपर्ने देखिन्छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० बमोजिम यस राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् छ भने गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति छ ।
परिषद् र समितिको सदस्य सचिवका रूपमा प्राधिकरणका कार्यकारी प्रमुख रहने व्यवस्था ऐनमा छ । प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी केन्द्रीय स्रोत निकायको रूपमा कार्य गर्ने अधिकार छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति तथा योजनाहरू तर्जुमा गर्ने कार्य गर्छ ।
परिषद् मातहतमा रहने गरी गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहने र उक्त समिति अन्तर्गत रहने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था छ । त्यसै गरी उक्त ऐनले प्रदेश स्तरमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति रहने जसले परिषदबाट स्वीकृत राष्ट्रिय नीति तथा योजनाको अधीनमा रही प्रदेशमा विपद् व्यवस्थापन सम्बन्धी नीति तथा योजना तर्जुमा गर्ने गर्छ ।
सोही ऐन बमोजिम हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी जिल्ला विपद् व्यवस्थापन समिति रहन्छ भने गाउँ नगर कार्यपालिकाका अध्यक्ष प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समितिको गठन हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस