शक्तिशाली भूकम्प : तिब्बतमा कम्तीमा ९५ जनाको मृत्यु, सयौं घर भत्किए
- नेचर खबर
काठमाडाैं । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । सयौँ घरहरू भत्किएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ।
नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।
चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन्। भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा सयौँ भवनहरू भत्किएका र १३० जना घाइते भएको पुष्टि चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ।
शिगात्से तिब्बती बौद्ध धर्मगुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो। उनी तिब्बती बुद्ध धर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन्। चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको र मानवरहित ड्रोनलाई सगरमाथानजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ।
विभिन्न स्थानबाट प्राप्त भिडिओमा उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कठ्याङ्ग्रिने जाडोबाट जोगिन कम्बल वितरण गरेको देखिन्छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार प्रयास अनि प्रभावितहरूको पुनर्वासका लागि आह्वान गरेका छन्।
नेपालमा भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
भारत र भुटानमा पनि धक्का महसुस
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर मुनि गएको जनाएको छ। नेपालमा स्थानीय समयानुसार बिहान ६: ५० तिर उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। त्यसपछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रबिन्दु बनाएर आधा दर्जनभन्दा बढी भूकम्प मापन गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्। भुटानमा पनि भूकम्पको धक्का महसुस गरिएको विवरण आएका छन्।
दक्षिणपश्चिम चीनमा बारम्बार भूकम्प जाने गर्छ। सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७०,००० जनाको ज्यान लिएको थियो। चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार मङ्गलवारको भूकम्पअघि शिगात्से वरपरको २०० किलोमिटर क्षेत्रभित्र पछिल्लो पाँच वर्षमा ३ वा त्योभन्दा बढी म्याग्निट्यूडका २९ वटा भूकम्प अभिलेख गरिएको थियो।
नेपाली अधिकारीहरू के भन्छन्
नेपालको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले नेपालका उत्तरी जिल्लाहरूबाट क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए। उनले भने, "हामीले प्राय: सबैजसो उत्तरी जिल्लाहरूबाट प्रारम्भिक विवरण लिइसकेका छौँ। हालसम्म ठूलो क्षतिको विवरण आएको छैन।"
गृह मन्त्रालयका अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा भूकम्प महसुस भएन भने गण्डकी प्रदेशका जिल्लाहरूमा सामान्य कम्पन महसुस भको थियो। अहिलेसम्मा कोशी प्रदेशका ओखलढुङ्गा र सोलुखुम्बु अनि रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही घरका पर्खाल र गोठमा भूकम्पले क्षति पुर्याएको गृह मन्त्रालयले जनाएको छ।
खुम्बु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पले बेसरी हल्लाए पनि क्षतिको विवरण प्राप्त नभएको बताए।
"ठूलो भूकम्प आयो। ठूलै परकम्प गइ नै रहेको छ। यहाँ ठूल्ठूला बस्तीहरू भएका खुम्जुङ, खुम्जे, ताङ्बोचे, फोर्चे, बिङबोचे, गोक्यो, थामे, नाम्चेबजार, फराकक्षेत्र, लुक्ला बजार, खरीखोला सबैतिर फोन गरेर बुझिसकेँ। अहिलेसम्म नेपालतर्फ कतैबाट पनि क्षति भएको विवरण आएको छैन," उनले बीबीसी न्यूज नेपालीसँग मङ्गलवार मध्याह्न कुरा गर्दै भने।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार दिउँसोसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। -बीबीसी
प्रतिक्रिया दिनुहोस