एनआरएनए स्विडेनद्वारा अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, स्विडेनले अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा महिला उत्प्रेरणा विकास मञ्चद्वारा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई एनआरएनए स्विडेनले आर्थिक सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, स्विडेनका कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले दुई हजार पचास युरो (अनुमानित  नेपाली रुपैयाँ दुई लाख ९५ हजार) बैङ्क मार्फत अटिजम केयर सेन्टरलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

“एक एनसीसी एक च्यारिटी” परियोजना मार्फत एनआरएनए एनसीसी स्विडेनले नेपालमा अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्थालाई सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, स्विडेनका अध्यक्ष गंगाप्रसाद घिमिरेले नेपालका गरिब, असहाय, अनाथ तथा अपाङ्गता बालबालिकाहरूको शिक्षा तथा व्यक्तित्व वृद्धिका लागि सहयोग गरेको बताउनुभयो । अध्यक्ष घिमिरेले अटिजमको समस्या विश्वभर रहेको र अझै नेपाल सरकारको सहयोग अटिजमको क्षेत्रमा अत्यन्त नगण्य मात्रामा भएको मुलुकमा  थप समस्या रहेकाले अटिजमको क्षेत्रमा जुटेको संस्थालाई केही हदसम्म भए पनि सहयोग तथा हौसला प्रदान होस् भनेर सहयोग गरेको बताउनुभयो ।

त्यसैगरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, स्विडेनका महासचिव राजेन्द्र तामाङले एनसीसी स्विडेनको कुनै पनि नियमित आयस्रोत नहुँदा नहुँदै पनि मातृभूमि प्रतिको माया, आस्था तथा अटिजम भएका बालबालिकालाई थोरै भए पनि सिकाई प्रक्रियामा गुणस्तरीयता वृद्धि तथा दैनिक हेरचाहमा सहजता होस् भन्ने उद्देश्यले अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरेका संस्थालाई सहयोग गरेको बताउनुभयो ।

विदेशमा रहेर पनि स्वदेशमा मानवीय सेवाको क्षेत्रमा काम गरिरहेका संघसंस्था, व्यक्ति तथा समुदायलाई गैर आवासीय नेपाली संघले सहयोग गर्दै आएका छन् । राष्ट्रिय समन्वय परिषद्, स्विडेनले अटिजम भएका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको दैनिक व्यवहारिक सिकाई प्रक्रिया तथा शिक्षण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।



महिला उत्प्रेरणा विकास मञ्चमा आबद्ध महिला सदस्यहरूले फजुल खर्च जम्मा गरी अटिजम भएका बालबालिकाहरूको हेरचाह तथा शिक्षण सिकाई प्रक्रियामा सहयोग होस भनेर सञ्चालन गरेको अटिजम केयर सेन्टरलाई विश्वास गरी एनसीसी राष्ट्रिय समन्वय परिषद्, स्विडेनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

संस्थाकी अध्यक्ष गीता कुमारी घिमिरेले आफूहरूले प्राप्त गरेको रकमबाट अभिभावक तथा शिक्षक÷शिक्षिकाहरूका लागि तालिम सञ्चालन गर्ने, बालबालिकाको दैनिक व्यवहार सिकाई प्रक्रियामा आवश्यक पर्ने शैक्षिक एवम् थेरापी सामान व्यवस्थापनमा खर्च हुने बताउनुभयो ।

यस सेन्टरमा अहिले विभिन्न जिल्लाका १५ जना अटिजम बालबालिका सिकाई प्रक्रियामा रहेका छन् । अटिजम केयर सेन्टरमा सबै अटिटिस्टक अभिभावकबाट सिकाई प्रक्रिया हुने गरेको संस्थाले जनाएको छ ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics