निकुञ्जका कर्मचारीले चलाए गोली, मर्यो मकुना
- नेचर खबर

चितवन । निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर जंगली हात्तीको मृत्यु भएको छ । कार्यालयले आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको र उक्त गोली लागेर मकुनाको मृत्यु भएको जनाएको छ । बुधबार दिउँसो साढे तीन बजे तिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्ज कर्मचारी र मकुनाबीच जम्काभेट भएको थियो ।
निकुञ्जका सुचना अधिकारी समेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार उक्त हात्तीलाई निकुञ्जको भित्री इलाकामा पठाउन ५/६ वटा हात्तीमा निकुञ्जको पूर्वी सेक्टरका कर्मचारी र निकुञ्ज सुरक्षामा खटेको नेपाली सेनाको नयाँ गोरख गण 'क' गुल्म सौराहाका सेनाहरु दैनिक गस्ती गर्दै आएका थिए ।
‘मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो । अन्य विकल्प नभएका कारण दुई राउण्ड हवाइ फायर भयो । त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तमाङ हात्तीबाट खसेका कारण ज्यानको सुरक्षा गर्न निकै कठिन भयो,' निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यो बेला थप तीन राउण्ड हवाइ फायर गरेको निकुञ्जले जनाएको छ ।
सो हवाइ फायरपछि मकुना हात्ती केही पर भागे पनि लगत्तै फर्केर आएको थियो । त्यसपछि एक राउण्ड गोली प्रहार गरेको निकुञ्जले जनाएको छ । त्यसपछि दिउँसो साढे एक बजे तिर ढलेको अवस्थामा भेटिएको हात्तीलाई दुई घण्टापछि पशु चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन् । नेपालको भाले हात्तीको लामो दाह्रा हुन्छ । दाह्रा नहुने भाले जंगली हात्ती मकुना निकै नै कम हुन्छन् ।
प्रतिक्रिया दिनुहोस