२ वर्षमा २७ वटा ‘सिंह’ अफ्रिकाबाट आयात

कहाँ लुकाइए जंगलका राजा ?

काठमाडौं  । दक्षिण अफ्रिकाबाट विभिन्न मितिमा २७ वटा जिउँदा सिंह (प्यानथेरा लियो) नेपाल आयात भएको तथ्य फेला परेको छ । सिंह विश्वकै संकटाउन्मूख प्रजाति हो । कानुनले यसको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । यो विश्व संरक्षण संघ (आइयुसीएन)को रेडलिष्ट र साइटिसको अनुसूची २ मा छ ।

नेपाल पक्ष भएको संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) सचिवालयको वेबसाइटमा उल्लेख डाटाबेसले नेपाल आयात भएको पुष्टि गरेको छ । सन् २०१६ र २०१७ मा गरी दुई वर्षको अन्तरालमा २७ वटा जिउँदा सिंह भित्रिएको डाटाबेसमा देखिन्छ ।

डाटाबेस अनुसार सन् २०१६ मा पहिलो पटक ३ वटा र दोस्रो पटक २ वटा गरी पाँच वटा जिउँदो सिंह आयात भएका छन् भने सन् २०१७ मा पहिलो पटक १८ वटा र दोस्रो पटक ४ वटा गरी २२ सिंह आयात भएको देखिन्छ ।

वन्यजन्तु तथा वनस्पति व्यापारसम्बन्धी यो डाटाबेस साइटिस सचिवालयका तर्फबाट संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रम (युनेप)–डब्लुसीएमसीले तयार गरेर आफ्नो वेबसाइटमा अपलोड गरेको हो । एक सय ८६ राष्ट्र पक्ष भएको साइटिस महासन्धि सचिवालय संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार नियमन र नियन्त्रण गर्ने प्रमुख निकाय हो । यसको केन्द्रीय कार्यालय जेनेभाको स्वीजरल्याण्ड छ । युनेप अन्र्तगत नै यसलाई राखिएको छ ।

युनेप–डब्लुसीएमसीको डाटाबेसअनुसार सन् २०१६ मा ११२ प्रकार वस्तुहरू नेपाल आयात भएको देखिन्छ । यीमध्ये क्रम संख्या ४५ र ४६ मा क्रमशः ३ र २ वटा सिंह आयात भएको विस्तृत विवरण उल्लेख छ ।

यसैगरी सन् २०१७ मा ८४ वटा वस्तुहरू आयात भएको देखिन्छ । यीमध्ये क्रम संख्या ४७ र ४८ मा क्रमशः १८ र ४ वटा सिंह आयात विवरण छ । यी सबै सिंह जिउँदो आयात गरिएको डाटाबेसमा उल्लेख छ । यसको स्रोतमा नियन्त्रित प्रजनन (क्याप्टिभ) भएको जानकारी दिइएको छ ।

डाटाबेसमा वन्यजन्तुको नाम, वर्ग, परिवार, उत्पादन स्थल, स्रोत, आयातकर्ता, निर्यातकर्ता, उद्देश्य, परिमाण, वस्तुको अवस्थालगायतका विवरण खुलाइएको छ । आयात गरिएकामध्ये केही साइटिसको अनुसूची एकमा रहेका वस्तुहरू छन् भने अधिकांश अनुसूची २ रहेका वस्तुहरू छन् ।

माथि सिंह आयात भएका दुई वर्षका तथ्यांक र विवरण मात्र समावेश गरिएको छ । सिंहबाहेक अन्य दुर्लभ वन्यजन्तु र तीनका अङ्ग पनि आयात भएको डाटाबेसमा देखिन्छ । माथि उल्लेखित बाहेक हरेक वर्षमा करिब एक सय भन्दा बढी संख्यामा यस्ता वस्तुहरू आयात भएको देखिन्छ । आयात संख्याको तुलनामा यस्ता वस्तुहरूको नमुना संख्या धेरै गुणा बढी छ ।

साइटिस महासन्धि कार्यान्वयनका लागि नेपाल सरकारले जारी गरेको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ कार्यान्वयन गर्ने निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हो । यस विभागले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । यो विभाग साइटिस महासन्धि र ऐन कार्यान्वयन गर्ने नेपालको आधिकारिक निकाय हो । साइटिस सचिवालयले अपलोड गरेको डाटाबेसकै बारेमा अनभिज्ञ रहेको प्रतिक्रिया विभागले दिएको छ ।

‘हामीलाई यसबारे केही थाहा भएन । यस विषयमा बैठक बसेर छलफल गर्छौ’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले नेचरखबरसँग संक्षिप्त प्रतिक्रिया दिए । त्यही विभागका इकोलोजिष्ट ऋषिराम ढकालले अहिलेसम्म विभागले यस्ता वन्यजन्तु आयातका लागि कसैलाई कुनै पनि मितिमा अनुमति नदिएको ठोकुवा गरे । ‘हामीले यस्ता वन्यजन्तु आयातका लागि कोही पनि निर्यातकर्तालाई कुनै पनि अनुमति दिएका छैनौँ । हामी पनि यो तथ्यांक र विवरण हेरेर अचम्मित भएका छौ’, साइटिसको डाटाबेस हेर्दै उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
अरू देशको डाटाबेस अध्ययन गर्दा आयातकर्ता देशको आधिकारिक साइटिस निकायले आयातित वस्तुको विवरण र अवस्थाबारे जेनेभास्थित साइटिस सचिवालयलाई जानकारी दिएको देखिन्छ । त्यस्ताले देश कति संख्या के भित्रियो भनेर सचिवालयलाई जानकारी दिएका छन् ।

तर नेपालको आधिकारिक निकाय वन्यजन्तु विभागले त्यो जानकारी दिएको डाटाबेसमा कतै पनि देखिदैन् । त्यसैले आयातकर्ता मुलुकले दिएको विवरणको कोलम खाली छ । तर सिंह निर्यातकर्ताले सचिवालयमा पठाएको सम्पूर्ण विवरण डाटाबेसमा अपडेट छ ।

दुर्लभ वन्यजन्तु र वनस्पति ओसारपसार नियमन तथा नियन्त्रणसम्बन्धी कानुनका जानकारहरू भने यसलाई गम्भीर विषयका रूपमा व्याख्या गर्छन् ।

‘साइटिस जस्तो संस्थाले आफ्नो वेबसाइटमै राखेपछि त यो गम्भीर विषय भयो । नेपालमा त सिंह कहीँ पनि छैन । त्यति धेरै सिंह कहाँ गए त ? कसले नेपालको नाममा कहाँ पुर्याइरहेको छ ?’, वन मन्त्रालयकै एक पूर्व पदाधिकारीले नचरखबरसँग भने, ‘सिंहको अन्तर्राष्ट्रिय बजार मूल्य बढी छ । त्यसैले विश्वका धनाढ्यहरूले सोखका लागि सिंह पाल्ने क्रम बढेको देखिन्छ । उनीहरूकै सोख पुरा गर्न यस्ता वन्यजन्तुको नेपाल ट्रान्जिट भएको हुनुपर्छ ।’

उनले व्यापारिक फाइदा उठाउन नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुकहरुमा निर्यात गर्ने उद्देश्यले सिंहको कारोबार भएको हुनसक्ने तर्फ सङ्केत गर्दै भने, ‘यो अनुसन्धानको विषय हो । छानबिन हुनुपर्छ । सिंह मात्र होइन अरू वस्तुहरू पनि निर्बाध आइरहेको देखिन्छ ।’

साइटिस ऐन २०७३ ले आधिकारिक निकायको अनुमति बिना त्यस्ता कुनै पनि वन्यजन्तु वा वस्तु नेपाल भित्राउन पाइदैन् भन्छ । यता विभागले पनि कुनै पनि अनुमति जारी नगरेको ठोकुवा गर्छ । तर उता साइटिस मुख्यालय भने नेपालमा २७ वटा सिंह आयात भएको विवरण र तथ्यांक राखेर बसेको छ ।

साइटिस सचिवालयले संकटापन्न वन्यजन्तु र वनस्पतिका विभिन्न दुर्लभ र सुलभ प्रजातिको संरक्षण र त्यसको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्छ । नेपाल सन् १९७५ सेप्टेम्बर १६ मा यसको पक्ष राष्ट्र भएको हो । साइटिस महासन्धि कार्यान्वयनका लागि नेपालले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ जारी गरेर कार्यान्वयनमा ल्याइसकेको छ । साइटिस महासन्धि संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सन् १९७३ मार्च ३ तारिखका दिन सम्पन्न भएको थियो ।

नेपालको जावलाखेलस्थित एक मात्र सदर चिडियाखानामा समेत सिंह छैन । नेपालको अन्य स्थानमा पालन गरेको पनि देखिँदैन । अहिलेसम्मको अवस्था हेर्दा नेपालमा सिंह कहीँ पनि छैन । तर साइटिस सचिवालयको डाटाबेसमा नेपालमा २७ वटा सिंह आयात भएको देखिन्छ ।

सिंहलाई जङ्गलको राजा पनि भनिन्छ । यसलाई शक्ति र साहसको प्रतीक पनि मान्छन् । विश्वमा यसको संख्या २४ हजारको हाराहारीमा भएको अनुमान छ । सन् १९०० सम्म विश्वमा यसको संख्या २ लाख रहेको अनुमान गरिएको छ । सन् १९७० मा आउँदा यो संख्या घटेर ९० हजारमा झरेको थियो ।

त्यसैले पहिले, सिंहहरू सम्पूर्ण अफ्रिका, एसिया र युरोपका केही भागहरूमा घुम्थे । यद्यपि, अहिले यो प्रजाति उप–सहारा अफ्रिकाको भूभाग र भारतको गिर राष्ट्रिय निकुञ्जमा मात्र सीमित छ । विश्वका पाँच वटा ठुला जनसंख्यामध्ये अफ्रिकाको तान्जानियामा मात्र सिंहको तीन वटा ठुलो जनसंख्या छ । धेरै जसो सिंहहरू सहारा अफ्रिकाको दक्षिणमा बस्छन् । सिंहहरू अत्यन्त अनुकूलनमय ठुला बिरालाहरू भएकाले, तिनीहरू सुख्खा जङ्गल, बाक्लो झाडी, बाढी मैदान र अर्ध–सुक्खा मरुभूमि क्षेत्रहरू सहित विभिन्न प्रकारका वासस्थानहरूमा बाँच्न सक्छन् । यद्यपि, तिनीहरू सामान्यतया पातलो बुट्यानसहितको खुल्ला चौरहरू रुचाउँछन् जहाँ तिनीहरूको सिकारलाई पछ्याउन सजिलो हुन्छ ।

सुबोध गौतम

प्रतिक्रिया दिनुहोस

web
analytics