वरपिपल संरक्षणका लागि पोखराको अपील
- नेचर खबर

बिकास अधिकारी --- विकास निर्माणका विभिन्न बहानामा वातावरण र प्रकृतिमाथिको दोहन बढ्दो क्रममा छ । पोखरामा विगत केही समय यता ऐतिहासिक वरपिपल, समी लगायतका धार्मिक वृक्षहरू काट्ने क्रम तीव्र रूपमा वृद्धि भइरहेका छ । कहिले सडक विस्तार हुँदा काटिएका छन् त कहिले चौताराका रुखमा बास बस्ने चराले फोहोर ग¥यो भनेर रुखहरु ठुन्क्याइने काम भई रहेका छन् ।
पछिल्लो समयमा कानुनी प्रक्रिया बिना नै जथाभावी वटवृक्षहरू काटिएका छन् । नेपाली संस्कृति वातावरण मैत्री हुँदाहुँदै पनि पुर्खौदेखि चलिआएको चौतारा चिन्ने, रुख रोप्ने, चौताराका छेउछाउमा घरपालुवा गाईभैंंसीलगायतका वन्यजन्तुका लागि पानी उपलब्ध गराउन पोखरी खनाउने र हिँड्दा हिँड्दै थाकेका बटुवाहरु थकाइ मेट्ने, भारी बिसाउँने, कचहरी बस्ने, शितलता लिने आदि काम चौताराबाटै हुँदै आएका हुन् तर यसको महत्त्व निकै नै ओझेलमा परिरहेको अवस्था छ ।
चौताराको आडमा सार्वजनिक पोखरी समेत निर्माण हुन्थे र वस्तुभाउ चौपायाहरूले पानी पिएर प्यास मेटथे । तर हाल यो अवस्था कुनै पनि पोखराका चौतारामा यो परिस्थितिकी प्रणाली देखिदैन । हाम्रा बाजे बराजुको पालामा अझ पोखरी नभएका चौतारामा धारा निर्माण गर्ने चलन थियो तर पछिल्लो समयमा हराउँदै गएका मात्र छैनन् पुराना यस्ता पुरानो सम्पदाको संरक्षण तथा सम्वर्द्धन गर्न परै जाओस्, बनिबनाउ संरचना ध्वस्त पार्ने काम हुँदै आएको छ ।
अतः वर्तमान परिप्रेक्ष्यमा पोखरा महानगरपालिका वडा नम्बर ६, १३, १४ लगायतका वडामा पछिल्लो समयमा वरपिपल, समीका रूख नपलाउने गरी ढलाउने उद्देश्यले काट्ने काम भएको छ । यस्ता व्यवहारले हामी नागरिक समाज र संरक्षण क्षेत्रमा क्रियाशील सम्पूर्ण पोखरेललाई दुखित तुल्याएको छ । यसरी जथाभावी रुखहरु काटिँदा यसबाट धार्मिक तथा पर्यावरणीय, साँस्कृतिक, सामाजिक लगायतका क्षेत्रमा अपुरणीय क्षति भएको हामीले निष्कर्ष निकालेका छौं ।
यस प्रकारका गतिविधिले पर्यावरण जैविक विविधता समेतमा असर गर्ने भएकोले जथाभावी रुख कटान गर्ने जोसुकै व्यक्ति संस्था भए पनि छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर प्रचलित कानुन अनुसार मुद्दा चलाएर कारबाही होस् भन्ने हामी सबैको आह्वान गर्दछौ ।
यस प्रकारका गतिविधि आगामी दिनमा पनि हुन नदिनलाई कानुन विपरीत ऐतिहासिक रुख कटान गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरी भविष्यमा पनि यस्ता गतिविधि हुन नदिन सम्बन्धित सम्पूर्ण निकायहरुलाई हार्दिक अपिल गर्दछौं साथसाथै आवश्यक परेको ठाउँमा कानुन निर्माण र कानुन संशोधन गरी यस्ता दण्डनीय कार्य गर्ने र जुनसुकै यस्ता गतिविधिमा संलग्न सम्बन्धित निकाय व्यक्ति तथा समूहलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर कानुन अनुसारको कारबाही गर्न पनि हामी जोडदार माग गर्दै भविष्यमा यस्ता निन्दनीय कार्य नदोहोरियोस् भन्ने अपेक्षा गर्दछौ ।
हाम्रो यस सार्वजनिक अपीललाई ऐक्यबद्धता जनाई सम्पूर्ण नागरिक समाज, संरक्षणकर्मी, बुद्धिजीवीहरूलाई आफ्नो ठाउँबाट सक्रिय रुपमा यस्ता गतिविधि विरुद्ध हामीलाई साथ दिन समेत हार्दिक अनुरोध गर्दछौं ।
अन्तमा धार्मिक, सांस्कृतिक, आयुर्वेदिक, सामाजिक, पर्यावरणीय तथा ऐतिहासिक महत्व बोकेका वरपिपल, शमीजस्ता वृक्षहरू संरक्षण गर्नु हाम्रो कर्तव्य हो । यसैलाई हृदयङ्गम गरेर पोखराको वातावरण स्वच्छ, शान्त र हराभरा बनाऔं ।
नागरिक समाज, कास्की
मिति २०८१ फागुन १ गते
अधिकारी वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्रध्यापक हुन्
प्रतिक्रिया दिनुहोस