आज नेपालकै प्रदूषित सहर बन्यो धनगढी
- नेचर खबर

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण सूचकांक एक्यूआई १८५ मापन गरिएको छ ।
पछिल्लो २४ घण्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर मापन गर्दै आएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घण्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।
आज दोस्रो स्थानमा रहेको भक्तपुरको १८२ एक्यूआई वायु प्रदूषण मापन गरिएको छ । यस्तै, काठमाडौँ शंखपार्क १७४, भैंसेपाटी १७२, रत्नपार्क १७०, पोखरा १६९, खुमल्टार १६५, भरतपुर १६१ र हेटौँडाको १५९ एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ गरेको छ ।
प्रतिक्रिया दिनुहोस