क्षुद्रग्रहले पृथ्वीमा पानी र कार्बनयुक्त यौगिक ल्याइदिँदा जीवन उत्पत्ति भएको हाे ?
- नेचर खबर

काठमाडाैं । बेनु नामक क्षुद्रग्रहबाट सङ्कलित नमुनामा जीवनका लागि अत्यावश्यक रासायनिक पदार्थ फेला परेको एउटा वैज्ञानिक विश्लेषणले देखाएको छ। अन्तरिक्षमा विचरण गरिरहेको उक्त चट्टानबाट अमेरिकी अन्तरिक्ष निकाय नासाको एउटा यानले नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याएको थियो। उक्त नमुनामा विभिन्न खालका खनिज पदार्थ र कार्बनयुक्त हजारौँ यौगिकहरू फेला परेका छन्।
त्यस्ता यौगिकमा 'अमीनो एसिड' भनिने प्रोटीनका आधारभूत अणुहरू र 'न्यूक्लिओबेस' भनिने आनुवंशिक सूचना सङ्ग्रह गर्ने डीएनएका विभिन्न आधारभूत तत्त्वहरू छन्। यद्यपि यसको अर्थ बेनु क्षुद्रग्रहमा कुनै कालखण्डमा जीव थियो भन्ने हैन। बरु अहिलेको परिणामले क्षुद्रग्रहहरूले अर्बौँ वर्षअघि पृथ्वीमा 'जीवन उत्पत्तिका लागि आवश्यक महत्त्वपूर्ण तत्त्व आपूर्ति गरेका थिए' भन्ने सिद्धान्तलाई बल प्रदान गरेको छ।
वैज्ञानिकहरू हाम्रो सौर्यमण्डलमा अन्यत्र पनि ती यौगिकहरू पुगेको हुन सक्ने ठान्छन्। "हामीले यसबाट जे जान्न पायौँ त्यो अद्भुत छ," लन्डनस्थित न्याचरल हिस्ट्री म्यूजीअममा कार्यरत ब्रह्माण्डीय खनिजविद् प्राध्यापक सारा रसेलले भनिन्।
"यसले हाम्रो सृष्टिबारे बताउँदै छ। अनि यसले हामीलाई जीवन कहाँ उत्पन्न भयो भन्ने निकै ठूलो प्रश्नको उत्तर दिन सहयोग गरेको छ। जीवन कसरी आरम्भ भन्ने विषय जान्न कसलाई मन लाग्दैन र?" 'नेचर' जर्नलले बेनु क्षुद्रग्रहबाट सङ्कलित नमुनाको अध्ययनबारे दुइटा शोधपत्र प्रकाशित गरेको छ।
बेनु क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्ने कामलाई नासाले गरेका निकै साहसपूर्ण अभियानमध्ये एक मानिन्छ। पाँच सय मिटर चौडा उक्त क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्न 'ओसाइरिस-रेक्स' नामक अन्तरिक्षयानमा एउटा यान्त्रिक हात जडान गरिएको थियो। झन्डै १२० ग्रामजति सङ्कलित नमुना एउटा क्याप्स्यूलमा बन्द गरेर उक्त अन्तरिक्षयान सन् २०२३ मा पृथ्वी फर्किएको थियो।
ओसाइरिस-रेक्सले ल्याएको "कालो धुलो" विश्वभरिका वैज्ञानिकहरूलाई वितरण गरिएको थियो। त्यति परिमाणको नमुना कसैलाई थोरै लाग्न सक्छ तर त्यो अहिले "खजाना" प्रमाणित भएको छ। "धुलोको प्रत्येक कणले हामीलाई बेनुबारे नयाँ कुरा बताउँदै छ," अध्ययनमा संलग्न प्राध्यापक रसेलले भनिन्। यूकेका वैज्ञानिकहरूको भागमा एक चम्चा धुलो परेको थियो।
नयाँ अनुसन्धानले अन्तरिक्षको उक्त चट्टानमा नाइट्रोजन र कार्बन भएका यौगिकहरू प्रचुर मात्रामा रहेको देखाएको छ। पृथ्वीमा भएका जीवहरूका शरीरमा हुने प्रोटीन बन्न चाहिने आधारभूत २० वटा अमीनो एसिडमध्ये १४ वटा र डीएनएका चारवटै आधारभूत अणु - एडनीन, ग्वानीन, साइटोसीन र थाइमीन - बेनुको धुलोमा पाइएको छ।
विभिन्न खनिज पदार्थ र लवणहरू पनि भेटिएको छ। तिनले उक्त क्षुद्रग्रहमा कुनै बेला पानी भएको सङ्केत गर्छन्। जीवरासायनिक प्रतिक्रियाका लागि महत्त्वपूर्ण अमोनिआ पनि भएको पुष्टि भएको छ।
यीमध्ये केही यौगिकहरू अन्तरिक्षबाट पहिला पनि पृथ्वीमा खसेका चट्टानमा फेला परेका थिए। तर केही चाहिँ पहिलो पटक भेटिएको हो। "यो निकै सम्पन्न छ। यसमा हामीले पहिला कुनै उल्कापिण्डमा नभेटेका खनिज पदार्थहरू प्रचुर मात्रामा छन्। यो अध्ययन निकै रोचक छ," प्राध्यापक रसेलले भनिन्। -बीबीसी
प्रतिक्रिया दिनुहोस