यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे ३ घण्टा देखियो
- नेचर खबर

काठमाडाैं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतवार राति खग्रास (पूरै ढाकिने) चन्द्र ग्रहण लागेको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतवार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११:५६ मा चन्द्र ग्रहणको मध्य, राति ०१:४१ बजे ग्रहण सकिएको थियो ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्र ग्रहण देखिएको जानकारी दिए । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्र ग्रहणले १०:११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१:४१ बजे अन्त्य भएको पनि उनले बताए ।
पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्र ग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्र ग्रहण हो ।
यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्र ग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्र ग्रहण पूर्णिमा र सूर्य ग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस