नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै
- नेचर खबर

काठमाडौं । आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।
नवरात्रको पहिलो दिन सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ । आज पनि विभिन्न शक्तिपीठहरुमा पूजा गर्नेहरुको भिड लागेको छ ।
प्रतिक्रिया दिनुहोस