“प्रकृतिको संस्कारसँग जोडिऔं”



संयुक्त राष्ट्र सङ्घ वातावरण कार्यक्रम युएनइपीले हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आएकोमा यस वर्ष मानिसलाई प्रकृतिसँग सम्बन्धित गरौँ भन्ने नाराका साथ क्यानाडालाई होस्ट राष्ट्र बनाई यो दिवस मनाइरहेको छ । यो दिवस विश्वका हरेक देश, हरेक सहर, गाउँठाउँ , टोल टोल, स्कुल स्कुल अझ परिवार परिवारमा मनाइदै छ । संयुक्त राष्ट्र सङ्घले घोषणा गरेका दिवसहरुमा यो विश्व वातावरण दिवस नै सबैभन्दा बढी व्यापक रूपमा र जनस्तरबाट मनाइने दिवस हुनुपर्दछ । यति व्यापक हुनुको कारण ४४ वर्ष अगाडि १९७३ जुन ५ देखि सुरु गरिएकोले मात्र नभएर, यसले हरेक मानिसको दैनिक जीवन, परिवेश, संस्कार तथा भविष्यसँग सरोकार राख्ने भएकोले त्यति व्यापक भएको हो । संयुक्त राष्ट्र सङ्घका महासचिव श्री आन्तोनिओ गुतेरसले यस विश्व वातावरण दिवस २०१७ को उपलक्ष्यमा हामीलाई बचाइराख्ने ग्रहलाई प्रेमसँग हेरचाह गर्न सबैसँग आह्वान गर्नुभएको छ ।

एकजनाले देखेको सपना सहायद सपनामा मात्रै सीमित रहन्छ होला, तर त्यही सपना धेरैको सपना भएमा त्यो जरुर पुरा हुन्छ । जेङ्घिस खानको यो भनाई जस्तै विश्व वातावरण दिवसको विश्वव्यापि सचेतना फैल्याउने, राजनितिज्ञहरुको ध्यानाकर्षण गर्ने र व्यक्ति व्यक्तिको वातावरणप्रतिको जिम्मेवारी तथा कुनै भेदभाव रहित दिगो विकासमा तिनीहरूको हुनसक्ने योगदानको बोध गराउने उद्देश्य व्यपक रूपमा अङ्गिकार गरिएका छन् । सबै कुराहरू धर्मबाट परिचालित हुने प्राचीन युगमा प्रकृति संरक्षण एक मात्र जल्दोबल्दो समस्या थियो, त्यसैले धर्मले संरक्षणलाई जोड दिँदै जोखिमपूर्ण अवस्थामा रहेका हरेक स्रोत साधनलाई भगवानको दर्जामा राखिदियो । आज वातावरण संरक्षण भनेको प्रकृति संरक्षण मात्र नभएर प्रदूषण न्यूनिकरण र वातावरण सम्बर्धन पनि हुन । बहुआयामिक भैसकेको वातावरण संरक्षणमा धर्मप्रतिको आस्था आज पनि प्रयोग भैरहेकै छ । मानिसले दिशा पिसाव वा फोहर फ्याकेर फोहर गर्न सक्ने सार्वजनिक ठाउँहरूमा भगवानका फोटोहरू टाँसेर त्यसलाई बचाएका धेरै उदाहरणहरू पाइन्छ । वातावरण संरक्षण विशेष गरी आजका जागरुक युवाहरुमा आफ्नो विश्वासको एउटा महत्वपुर्ण पाटो हुन गएको छ । आ–आफ्नो बुझाई अनुसार वातावरण संरक्षणका पाइलाहरू आफ्नो दैनिक जीवनमा अनुसरण गरेको पाइन्छ । पहिला धर्मको कारण मानिस शाकाहारी भएका थिए भने अहिले आएर मानिसहरू वातावरणमा आफ्नो कारण हुन सक्ने दाँग कम राख्न शाकाहारी भएका छन् । यसर्थ, वातावरण दिवसको सन्दर्भमा हामीले कमसेका एउटा कुरा मनन गर्न अत्यनतै जरुरी छ, मासिहरुलाई प्रकृति संरक्षण, प्रदूषण नियन्त्रण तथा वातावरण सम्बर्धनका बारेमा बुझ्ने किसिमले सरल भाषामा आवश्यक जानकारीहरू र अपनाउन सकिने उपायहरू विभिन्न माध्यमबाट दिँदै जानु पर्छ ।
बहुआयामिक भएको वातावरण संरक्षणमा धेरै पक्षहरुलाई समेटिनु पर्छ । अहिले जलवायु परिवर्तन, प्राकृतिक संरक्षण, वायु प्रदूषण तथा फोहर मैला व्यवस्थापन सबैको विशेष चासोको विषय भएको छ । मानिसको क्रियाकलाप यति व्यापक भैसक्यो कि पृथ्वीको अवस्थालाई नै असर पार्ने भैसकेको छ, त्यसैले यो युगलाई मानव नियन्त्रित युग भन्न थालिएको छ । विश्व जलवायु परिवर्तन यसको प्रत्यक्ष उदाहरण हो । त्यस्तै प्राकृतिक स्रोत साधनको मानव प्रयोगका कारण पृथ्वीको धरातलिय अवस्थामा पनि परिवर्तन आएको छ । राती लिइएको भूउपग्रहको तस्बिरमा प्रायः सबैजसो जमिनको भागमा बत्ती बलेको देखिन्छ । यो पक्कै भूउपयोगमा आएको परिवर्तन हो । मानिसको क्रियाकलाप र क्षमतामा जति नै वृद्धि भए पनि यस पृथ्वीको अधिकांश भाग मानिसले आफ्नो लागि ओगटन मिल्दैन, मानिसले कहिल्यै पनि आफ्नो बलबुतावले प्राकृतिक सन्तुलन निर्माण गर्न सक्दैन, त्यसैले पृथ्वीको धेरै जसो भूभाग यसको प्राकृतिक अवस्थामा संरक्षण गरिनु पर्छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ सस्थाले काठमाडौँको वायु प्रदूषणका बारेमा जारी गर्दै आएको विवरणहरू विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा व्यापक रूपमा छाएकै छ । जर्मन संस्था इस्टीट्युस फोर एड्भान्स स्टाईनविलिटी फ़र स्टडीज़ ले केही वर्षदेखि निरन्तर रूपमा काठमाडौँको वायु प्रदूषणलाई कम गर्न नीति निर्माण देखि जनस्तरसम्मका कामहरू गरिरहेको छ। इसिमोड सँग सहकार्य गर्दै यस सस्थाले जनचेतना जगाउन “धुँवा” भन्ने टेलिफिल्म केही वर्षदेखि सार्वजनिक गरेको छ । सर्वोच्च अदालतदेखि महानगरपालिका सम्मले काठमाडौँको वायु प्रदूषणलाई गम्भीरताका साथ लिएको देखिन्छ । त्यसो भएता पनि भर्खरै यो संस्था ले काठमाडौँमा गरेको वायु प्रदूषण सम्बन्धी सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौँको वायु प्रदूषणको स्थिति चीनको बेजिङ्ग र भारतको नयाँ दिल्लीको भन्दा भयावह छ । यसैले सबै क्षेत्रको साथै काठमाडौँ महानगरपालिकाका नयाँ नगर प्रमुख श्री विद्या सुन्दर शाक्यज्युको “सफा सहर” र “फोहर सूर्य उदाउनु अगाडि उठाउने” आदि अभियानले यहाँको वायु प्रदूषण कम गर्न विशेष भूमिका खेल्ने कुरामा हामी आसावादी हुन सक्छौँ ।
फोहर मैलाको समस्या हिजोको भन्दा पनि आज र आजभन्दा पनि भोलीको समस्या हो, किनकि मानिस जति धनी हुन्छन् उति धेरै र तहलगाउन गाह्रो फोहर उत्पादन गर्छन् । फेरि सहरीकरण सँगसँगै सहरमा बसोबास गर्ने मानिसहरूको सङ्ख्या विकसित तथा विकासोन्मुख दुवै किसिमका राष्ट्रहरूमा तीव्र रूपले बढ्दै छ । यसैले फोहरलाई आज व्यवस्थित गर्न नसकिए भोलि यो झन् चुनौतिपूर्ण हुने निश्चित छ । फोहर व्यवस्थापन प्राविधिक सहयोग केन्द्र लगायत सबै नगरपालिका तथा गाउँपालिकाले यस क्षेत्रमा जनसहभागिता जुटाएर अगाडि बढ्नु पर्छ । संसारमै ल्याण्डीफल्डमा विसर्जन गर्ने प्रक्रियालाई निरुत्साहित गरिदै लगिएकाले सबै क्षेत्रले स्रोतमै फोहरलाई कुहिने र नकुहिनेमा छुट्ट्याएर दुवै फोहरलाई पुनप्रयोग मार्फत सदुपयोग गर्न जोड दिनु पर्छ ।
यस विश्व वातावरण दिवसको पावन अवसरमा हामी सबैले न्यूनिकरण गर्ने, पुनः प्रयोग गर्ने तथा थोरै उपभोग गर्ने प्रकृतिको संस्कारलाई पहिचान गरी आफ्नो दैनिक व्यवहार बनाउन संकल्प गर्नु पर्छ । पहिला साइकलको युगमा चीनमा वायु प्रदूषण नभएको भनिए झैँ, विश्वको आधाभन्दा बढी जनसङ्ख्याले शौचालय उपयोग नगरिरहेको अवस्थामा पनि हामी उनीहरूको माझ हाल चालु शौचालयभन्दा पनि परिमार्जित पानी खर्च नहुने, विसर्जित पदार्थको सदुपयोग हुने तथा कुनै पनि किसिमले प्रदूषण नगर्ने शौचालय लैजानको लागि पर्खिरहेका छौँ । कुनै पनि विकास सन्तुलन नै खल्बल्याउने प्रकृतिको विनासमा हुनुहुँदैन । यसैले मानिस जति सुकै आधुनिक भए पनि प्रकृतिसँग जोडिएकै हुनुपर्छ ।

लेखक त्रिविका सहप्राध्यापक हुन्

डा. किशोर राजभण्डारी

प्रतिक्रिया दिनुहोस

web
analytics