‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’



विज्ञान तथा प्रविधिका क्षेत्रमा विभिन्न देशमा कार्यरत वैज्ञानिकलाई स्वदेश फर्कन नेपाल सरकारले आह्वान गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले ‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम सञ्चालनमा ल्याई वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गरेको हो ।

नेपालमा नै दक्ष वैज्ञानिक र प्रविधिज्ञबाट आर्जित ज्ञान तथा सिपलाई आफ्नै देशको विकास गर्ने वातावरण मिलाउन नाष्टले यो कार्यक्रम सञ्चालनमा ल्याएको नास्ट प्रचार विभागको प्रमुख रमिला राउतले जानकारी दिइन् ।

नेपालबाट विज्ञान र प्राविधिक क्षेत्रका दक्ष जनशक्ति बाहिरीरहेको अवस्थामा उनीहरुलाई विदेश पलायन हुनबाट रोक्न नास्टले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममार्फत विदेशबाट फर्किएका दक्ष जनशक्तिलाई अनुसन्धानमा लगाउने तयारी गरेको छ । नास्टले विज्ञान तथा प्रविधिका विभिन्न विधामा विदेशमा काम गरेर फर्किएको एक वर्ष अवधि ननाघेकालाई ३० दिनभित्र आफ्नो अवधारणा पत्र नास्टको कार्यालयमा पेस गर्न आग्रह गरेको छ ।
यस कार्यक्रम अन्तर्गत छनोट भएका वैज्ञानिक तथा प्राविधिकहरुले नास्ट र यो सँग सम्बन्धित संस्थामा रहेर काम गर्नुपर्ने हुन्छ । नास्ट प्रचार विभागकी प्रमुख राउतले भनिन् ‘अनुसन्धान अवधि कम्तिमा तीन महिनादेखि एक बर्षसम्मको रहेको छ ।’

नास्टले अनुसन्धानको प्रमुख क्षेत्रमा वातावरण तथा जलवायु परिवर्तन, उर्जा, विपद् जोखिम न्युनिकरण, जैविक विविधता, शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा सहभागी हुने वैज्ञानिक तथा प्राविधिकले कम्तिमा विज्ञान तथा प्रविधिको विषयमा स्नातकोत्तर वा सो भन्दा माथिको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

छनोट भएका बैज्ञानिक तथा प्राविधिकलाई समयअवधिभर कम्तीमा नास्टको अधिकृत बराबरको मासिक पारिश्रमिक वा प्राज्ञीक विशिष्टताका आधारमा सो भन्दा बढी समेत दिने व्यवस्था मिलाइएको नास्टले जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics