जलवायु परिवर्तनकाे असर : ०.०५६ डिग्रीले तापक्रम बढ्दै
- नेचर खबर

नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको छ । यसअघि सरकारले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालमा वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले मात्र तापक्रम बढिरहेको आँकडा प्रस्तुत गर्ने गरेको थियो ।
यो खबर हामीले कान्तिपुर दैनिक बाट लिएका हौँ । विहिबारको कान्तिपुरमा अब्दुल्लाह मियाँ लेख्छन् विकसित मुलुकहरूले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्यास (ग्रिनहाउस ग्यास) का कारण नेपालको तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो ।
नेपालले भने प्रतिवर्ष ०.१ प्रतिशतमात्र ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले पहिलोपटक मुलुकभरका मौसम मापन केन्द्रको झन्डै ४० वर्षको तथ्यांक विश्लेषण गर्दै तापक्रम वृद्धिदर पहिलेभन्दा बढेको तथ्य सार्वजनिक गरेको हो ।
विभागका महानिर्देशक डा. ऋषिराम शर्माले ३० वर्षभन्दा बढी समयदेखि नियमित रूपमा वर्षा र तापक्रम मापन गर्ने ८० भन्दा बढी केन्द्रको तथ्यांक विश्लेषण गरेर पछिल्लो तापक्रम वृद्धिदर निकालिएको बताए ।
‘देशभरको ४० वर्षको तापक्रम र वर्षाको तथ्यांक विश्लेषण गरेर नेपालको तापक्रम दर पत्ता लगाएका हौं,’ शर्माले भने, ‘यो नै पहिलो वैज्ञानिक प्रतिवेदन हो ।’ विभागले सन् १९७० देखि मापन केन्द्र खडा गरेर तापक्रमको रेकर्ड राख्न सुरु गरे पनि अहिलेसम्म तुलनात्मक विश्लेषण गरेको थिएन । वातावरण मन्त्रालयको ‘राष्ट्रिय अनुकूलन योजना’ (न्याप) तयार गर्ने क्रममा विभागले तापक्रम विश्लेषण गर्दै ‘जलवायु परिवर्तनको प्रवृत्ति र परिदृश्य प्रतिवेदन’ तयार गरेको हो ।
नयाँ तथ्य विश्लेषणका लागि विभागका मौसमविद्, त्रिविको केन्द्रीय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक र इसिमोडका विज्ञ झन्डै ६ महिना खटिएका थिए । पछिल्लो तथ्य विश्वको औसत बढदो तापक्रमभन्दा बढी भएको विश्लेषण विशेषज्ञहरूको छ । यही गतिमा तापक्रम बढ्ने हो भने एक सय वर्षमा करिब ५ डिग्रीसम्म तापक्रम पुग्न सक्छ ।
सन् २०१० मा वातावरण मन्त्रालयले २०३० सम्म तापक्रम वृद्धिदर १.२, सन् २०५० सम्ममा १.७ र सन् २१०० मा पुग्दा वृद्धिदर ३ डिग्रीसम्म पुग्ने आकलन गरेको थियो । नयाँ तथ्यले वृद्धिदर झनै बढ्न सक्ने औंल्याएपछि विशेषज्ञसमेत चिन्तित छन् ।
प्रतिक्रिया दिनुहोस