उपत्यकामा भित्रिने तरकारीमा विषादी बढ्याे



भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् । यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौँँ । नयाँ पत्रिकामा अजित अधिकारी लेख्छन् कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलग–अलग अनुगमन र परीक्षण गरी तरकारीमा विषादीको मात्राका अध्ययन गरेका छन् ।

अनुगमनले बेमौसमी तरकारीमा बढी विषादी प्रयोग हुने गरेको देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले मौसमी तरकारीमा विषादी कम र बैमोसमी तरकारीमा बढी देखिएको जानकारी दिए ।

भारतीय तरकारीमा बढी विषादी


विदेशबाट आउनेमध्ये भारतीय तरकारीमा सबैभन्दा धेरै विषादी देखिएको छ । आर्थिक वर्ष ०७१/ ७२ मा भारत, भुटान, चीन, थाइल्यान्ड, नेदरल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयात भएको एकवटा तरकारीमा विषादी भेटिएको थियो । आव ०७२/७३ मा भारत, चीन, भुटान, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । भारतबाट आयातीत तीनवटा तरकारीमा विषादी भेटिएको थियो । आव ०७३/७४ मा भारत, चीन, भुटान र नेदरल्यान्डबाट आएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयातीत ६ वटा तरकारीमा विषादी भेटिएको निर्देशनालयले जनाएको छ । अन्य देशबाट आयात भएका तरकारीमा विषादी नदेखिएको निर्देशनालयले जनाएको छ ।

कालिमाटी तरकारी व्यवसायी समितिका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार विदेशबाट आयात हुने तरकारीमा भारतको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । आलु, प्याज, कागती र बैमौसमी तरकारी भारतबाट धेरै आयात हुन्छ ।

थानकोट र भक्तपुरबाट भित्रने तरकारीमा बढी विषादी


आव ०७३/७४ को अध्ययनले थानकोट र भक्तपुरको जगाती नाकाबाट भित्रने तरकारीमा विषादीको मात्रा बढी देखाएको छ । बालाजु नाकाबाट भित्रने तरकारीमा विषादी नभेटिएको निर्देशनालयले जानकारी दिएको छ । थानकोटबाट भित्रने ४६ तरकारीको परीक्षण गर्दा दुईवटा र जगातीबाट भित्रने ५० तरकारीको परीक्षण गर्दा तीन प्रकारमा विषादी भेटिएको छ । बालाजुबाट भित्रने २५ तरकारीमा परीक्षण गर्दा विषादी देखिएन ।

स्नायुमा असर गर्ने विषादी


कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी दिनेशबाबु तिवारीका अनुसार स्नायु प्रणालीमा असर गर्ने अर्गानो फस्फेट र कार्बोनेटनामक दुई विषादीको प्रयोग धेरै देखिएको छ । किसानले चाँडो तरकारी फलाउन, ताजा देखाउन यस्ता विषादी प्रयोग गरेका हुन् । दुवै विषादी प्रयोग गर्न बन्देज छ । किसानले विषादी प्रयोग गरेको कति समयमा तरकारी टिप्ने भनेर ख्याल नगर्दा पनि बिक्रीका लागि बजारमा आएका तरकारीमा विषादीको मात्रा धेरै भेटिएको उनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics