हरित अर्थतन्त्रमा जोड

हरियो नेपाल, समृद्ध नेपाल भन्ने नाराका साथ काठमाडौँमा एग्रो टुरिजमसम्वन्धि राष्ट्रिय सम्मेलन सुरु भएकोछ । सरकार तथा विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा सपोर्ट एक्टिभिटिज फर पोर प्रोडुसर अफ नेपाल (सप्रोस नेपाल) द्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले हरित अर्थतन्त्रमा जाड दिए ।

उनले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि र जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न सकिने बताए । सर्वसुलभ र उपयोगी प्रविधिको विकासले रोजगारीका अवसर सिर्जनाको साथै उत्पादकत्वमा वृद्धि भई समृद्धिको लक्ष्य हासिल गर्न सकिने भन्दै निर्वाचित स्थानीय, प्रदेश र संघीय सरकार उपलब्ध स्रोतसाधनलाई हरित राष्ट्र निर्माणमा परिचालनमा केन्द्रित हुनुपर्ने बताए । तर प्रविधिको प्रयोगले मानिसको रोजगारी संकटमा पार्न सक्नेतर्फ भने सचेत रहनुपर्ने उनको भनाइ थियो ।

उनले सम्मेलनबाट प्राप्त सुझाव नीति निर्माणका लागि उपयोगी हुनसक्ने बताए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी आवासीय संयोजक भालेरिया जुलियाण्डले दिगो विकास लक्ष्यमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाललाई हरियाली बनाउँ कार्यक्रम अघि बढाउन सकिने बताइन् । वातावरणमा असर पार्ने गरी विश्व समुदायबाट भएको गल्तीलाई नेपालले दोहोरयाउनु नहुने पनि उनले बताइन् । वातावरणमा पर्ने नकारात्मक असरबाट निजी क्षेत्र पनि अछुतो रहन नसक्ने भएकोले वातावरण संरक्षणका लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताइन् । उनले भनिन्–मानवविना धर्ती रहला तर धतीविना मावन रहनसक्दैन । उनले पर्यावरणमैत्री विकासमा जोड दिँदै धनी झन् धनी हुँदै जाने र गरिब झन् गरिब हुँदै जाने खतरालाई रोक्नुपर्ने बताइन् ।

उनले कार्यक्रममा अर्थमन्त्रीको उपस्थितिले हरियो नेपाल अभियान नेपाल सरकारको उच्च प्राथमिकता रहेको महसुस भएको पनि उनले बताइन् । सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जैविक कृषि, नवीकरणीय ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा गरिने स–साना लगानीबाट स्थानीय समुदायलाई कसरी लाभान्वित बनाउने भन्नेबारेमा अनुभव आदान प्रदानका लागि सम्मेलनबाट सहयोग पुग्ने बताए । साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले कृषकलाई लाभान्वित गर्न विभिन्न कृषि सहकारीमार्फत गरिएको लगानी निकै प्रभावकारी भएकाले आगामी दिनमा पनि प्रविधि र लगानीलाई सँगैसँगै लैजाने बताए । अथविद् डा विनायक भद्राले नवीकरणीय ऊर्जाको आर्थिक पक्षकाबाबारेमा कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिमा आएको लागत गिरावटसँगै यातायात र खाना पकाउन नवीकरणीय ऊर्जाको प्रयोगले बिस्तारै परम्परागत र जैविक ऊर्जाको प्रयोग कम हुँदै जाने सम्भावना देखिएको बताए ।

सम्मेलनमा भोकमारी जस्तो जटिल समस्याको अन्त्य गरी खाद्य सुरक्षाका विषयलाई व्यवस्थित बनाउने, महिला तथा युवा सशक्तिकरणका विषय, दिगो विकास लक्ष्यप्राप्त गर्नेलगायत विविध विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । दुइदिने सम्मेलनमा गरिबी न्यूनीकरणका लागि सूचना प्रविधिको उपयोग गरी पर्‍या–पर्यटन, नवीकरणीय ऊर्जा, प्रांगरिक खेतीलगायत क्षेत्रमा गरिएका लगानी त्यसबाट प्राप्त भएका उपलब्धिबारे पनि सम्मेलनमा छलफल हुनेछ । राष्टिय तथा अन्तराष्टिय विज्ञहरूसहितको सम्मेलन स्वदेशी तथा विदेशी गरी करिब २ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सप्रोस नेपालले गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, र तनहुँका विभिन्न गाउँपालिकामा भूकम्पका कारण विस्थापित भएकालाई पुनःस्थापना गराउन विभिन्न व्यावसायिक सीप तथा तालिम उपलब्ध गराउँदै आएको छ । सप्रोसले सन् २०१६ मा पनि कार्यशाला आयोजना गरेको थियो । सम्मेलनमा विभिन्न जिल्लाका करिब आधा दर्जन साना अर्गानिक कृषकहरूको पनि सहभागिता रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics