आर्टीफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै



नेपालमा कृत्रिम बौद्धिकता(आर्टीफिसियल इन्टेलिजेन्स) को सकारात्मक प्रयोगका प्रशस्तै सम्भावना र अवसरहरू रहेकोमा विज्ञहरूले जोड दिएका छन् । राजधानीमा नेपाल दूर सञ्चार प्राधिकरणले विश्व दूर सञ्चार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विज्ञहरूले आर्टीफिसियल इन्टेलिजेन्सको प्रयोग संसारभरि बढिरहेको बताउँदै नेपालमा पनि त्यसको अधिक प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालको कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा यस्ता प्रविधिको सबैभन्दा धेरै प्रयोग गर्न सकिनेमा विज्ञहरू सहमत छन् । यस्ता प्रविधिले मानिसको जीवनलाई सहयोग गर्ने बताउँदै त्यसलाई नकारात्मक भन्दा बढी सकारात्मक रूपमा लिन पनि उनीहरूले आग्रह गरे ।

आर्टीफिसियल इन्टेलिजेन्स (एआइ) त्यस्ता प्रविधि हुन्, जसले मानिसको योजना अनुसार विभिन्न काम गर्ने तथा सूचना प्रदान गर्ने काम गर्दछन् । जस्तै आइफोनमा प्रयोग हुने सिरी, डेन, चालकबिहीन कार, गुगल सर्च इन्जिन आदी एआइका उदाहरण हुन् । यस्ता प्रविधिको सकारात्मक पक्षसँगै चुनौतीहरू पनि थपिइरहेको उनीहरूको भनाई थियो ।

कोलम्बिया विश्व विद्यालयका प्राध्यापक तथा फ्युज मेसिनका प्रमुख कार्यकारी अधिकृत डा. समिरमान मास्केले दिगो विकासका लक्ष्य पुरा गर्न यस्ता प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्ने बताए । विश्वभरि यस्ता प्रविधिको प्रयोग बढिरहेको र त्यसले आर्थक र सामाजिक जीवनमा समेत उल्लेख्य फरक पारिरहेको बताए । नेपालका दुर्गम भेगमा कृषिमार्फत उत्पादन बढाउन तथा दुर्गम भेगमा डेनमार्फत औषधी पुर्‍याउन यस्ता प्रविधिको प्रयोग गर्न सकिने उनको भनाई थियो ।

अर्का विज्ञ डा. हेमन्त श्रेष्ठले मानिसले बनाएको एआइले मानिसलाई चुनौती दिन नसक्ने बताउँदै आफूले चाहे अनुसार यस्ता प्राविधीको अधिकतम फाइदाका लागि उपयोग गर्न सुझाव दिए । उनले नेपालमा यस्ता प्रविधिको प्रयोग र त्यसबाट उल्लेख्य फाइदा लिन सकिने सम्भावना पनि दर्शाए ।

सञ्चार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले प्रविधिको प्रयोगलाई सरकारले अधिकतम प्राथमिकता दिइरहेको बताउँदै त्यसका लागि सबैको सहयोगको आग्रह गरे ।

राष्टिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले विश्व परिवेशमा समय क्रमको विकासंगै आइरहेका नयाँ प्रविधिलाई विकासका लागि प्रयोग गर्नेतर्फ सरकार सचेत रहेको बताए । उनले दिगो विकासका लक्ष्य हासिल गर्न यस्ता प्रविधिको प्रयोग अनिवार्य भएको बताउँदै सचेतनाका कार्यक्रमसमेत अघि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव महेन्द्र गुरुञ्ले एआइजस्ता प्रविधिको सकारात्मक प्रयोगका लागि सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics