खाद्य स्वच्छता दिवसमा विविध कार्यक्रम हुँदै
- नेचर खबर

हेटौंडा/क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले दशौं खाद्य स्वच्छता दिवस–२०७५ मनाउन सुरु गरेको छ ।
‘हामी सबैको सरोकार खाद्य श्रृङ्खलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ देशभर दिवस मनाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्णयअनुसार क्षेत्रीय खाद्यले पनि विविध कार्यक्रमको आयोजना गरेको हो ।
कार्यालयले आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत तीन दिने कार्यक्रमको बारेमा जानकारी गराएको छ । खाद्य स्वच्छता दिवसको पहिलो दिन पत्रकार सम्मेलन तथा कार्यालय परिसर सरसफाई कार्यक्रमको आयोजना गरिएको क्षेत्रीय प्रमुख राजकुमार रिजालले जानकारी दिए ।
तीन दिने कार्यक्रमको दोस्रो दिन जेठ ७ गते सोमबार खाद्य स्वच्छता सम्बन्धी चेतनामुलक प्रवचन तथा माइकिङको कार्यक्रम राखिएको छ । विद्यालय शिक्षा कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा निरीक्षण ईकाई चितवन, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाबाट स्थानीय स्थानीय विद्यालयमा गई खाद्य स्वच्छता सम्बन्धी सचेतनामुलक प्रवचन कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको क्षेत्रीय कार्यालय प्रमुख रिजालले बताए । त्यसैगरी बीरगञ्ज र हेटौंडामा माइकिङमार्फत प्रचारप्रसारको कार्यक्रमसमेत राखिएको छ । त्यसैगरी सोमबार नै ‘हामी सबैको सरोकार खाद्य श्रृङ्खलामा स्वच्छता र गुणस्तर’ विषयक हेटौंडाका सामुदायिक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको छ ।
तीन दिने कार्यक्रमको अन्तिम दिन जेठ ८ गते मंगलबार आम खाद्य उपभोक्ता, खाद्य उद्योगी, व्यवसायी, समाजका बुद्धिजीवी, उपभोक्ताबादी संघसंस्था, सञ्चारकर्मी तथा कर्मचारीहरको सहभागितामा बीरगञ्जमा खाद्य स्वच्छतासम्बन्धी अन्तरक्रिया कायक्रमको आयोजना गरिएको जनाइएको छ । खाद्य क्वारेन्टाइन प्रयोगशाला बीरगञ्जको सहकार्यमा उक्त अन्तरक्रिया हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख रिजालले खाद्य पदार्थमा स्वच्छता हासिल गर्नु हामी सबैको अधिकार भएको भन्दै यस कार्यमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस