चीनले नेपाललाई दियो गैंडा आयात गर्न अनुमति



चीन सरकारले नेपालबाट उक्त मुलुकमा गैँडा पठाउनका लागि आयात अनुमति (इम्पोर्ट परमिट) पठाएको छ । नेपाल सरकारले चीनलाई उपहारमा गैँडा उपलब्ध गराउँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार दुई महिना भित्रमा चीनलाई गैँडा उपलब्ध गराउन आवश्यक गृहकार्यलाई तीव्रता दिइएको छ । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कागजी प्रक्रियालाई अन्तिम रूप दिने काम भइरहेको छ ।

नेपाल साइटिस पक्षधर राष्ट्र भएकाले विभिन्न प्रकारका कागजी प्रक्रिया पुरा गरेर मात्रै गैँडा चीनलाई हस्तानान्तर गर्न मिल्छ । कागती प्रक्रिया अन्तिम रूप लिएपछि त्यसैको आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडाको निर्यातका लागि निर्यात अनुमति पत्र (निर्यात परमिट)  प्रदान गर्ने व्यवस्था छ ।

गैँडा उपहार दिनु अघि पशुसेवा विभागले क्वारेन्टाइन सटिफिकेट अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था छ । विभागका क्वारेन्टाइन प्रमुख डा.रामानन्द तिवारीका अनुसार गैँडाको स्वास्थ्य अवस्थाको परीक्षण गरेर कुनै पनि प्रकारको रोग व्याधी नभएको र सरुवा रोगको संक्रमण नभएको परीक्षणको आधारमा क्वारेन्टाइनसम्बन्धी सर्टिफिकेट(प्रमाणपत्र) प्रदान गर्ने व्यवस्था छ ।

तिबारीका अनुसार चीनको आवश्यक्ता र कानुनको परिधीभित्र रहेको यस्तो सर्टिफिकेट उपलब्ध गराउने व्यवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको वरिष्ठ पशु चिकित्सक कमल गैरेले गर्ने सिफारिसको आधारमा क्वारेन्टाइनले उक्त सर्टिफिकेट प्रदान गरिनेछ ।

यस्तै चीन पठाउन लागिएको गैँडालाई त्रिभुवन विश्वविद्यालय मातहतको नेचुरल हिस्ट्री म्युजियमले पनि स्वास्थ्य प्रमाणपत्र (हेल्थ सर्टिफिकेट ) उपलब्ध गराउनुपर्नेछ ।

नेपाल साईटिसको पक्षधर राष्ट्र भएकाले अन्य मुलुकलाई संरक्षित वन्यजन्तु उपहारमा दिन विभिन्न प्रकारको कागजी प्रक्रिया अनिवार्य रूपमा पुरा गर्नुपर्छ । सरकारले चीनलाई दुई चरणमा एकसिंगे गैँडा उपहारमा उपलब्ध गराउनेछ । साइटिस ऐनमा कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण, शिक्षा वा अनुसन्धान प्रयोजनका लागि सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै पनि प्रजातिको संकटापन्न वन्यजन्तु नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकका रूपमा उपहारस्वरूप त्यस्तो मुलुकलाई उपलब्ध गराउन सक्नेछ भनी उल्लेख छ ।

राष्ट्रिय निकुञ्न तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यही जुन महिनामा चीनियाँ टोली गैँडा हेर्न नेपाल आउँदै छन् । चितवन राष्ट्रिय निकुञ्जमा बैशाख २० गते नै चीनलाई उपहार दिन लागिएको गैँडा समात्ने कार्य पूरा भएर खोरमा राखिसकिएको छ ।

करिब ५० जनाको टोलीले करिब दुई वर्ष उमेर पुगेका दुईवटा पोथी र एउटा भालेलाई एक साताको अवधीमा नियन्त्रणमा लिएको थियो । बाढीबाट उद्धार गरिएको एक भाले गैँडालाई चीन पठाउने प्रस्ताव गरिएको छ । त्यसैले दुई पोथी र एक भाले गैंडामात्र नियन्त्रणमा लिइएको थियो ।

नेपालले उपहारमा पठाउन लागेको गैँडा चीनको साँघाइ र ग्वान्जाओस्थित पार्कमा राख्ने व्यवस्था गरिएको छ । २०७३ को असारमा तत्कालीन समयका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो ।

यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई पनि एक जोडी गैँडा उपहारमा दिएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics