गौरीशंकरमा पहिलो पटक हिउँ चितुवा फेला

A+ A-


दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा पहिलो पटक हिउँ चितुवा फेला परेको छ।

गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने बिगु गाउँपालिका वडा नं १ (साबिक लामावगर गाविस १ लप्ची) उपत्यकामा गरेको क्यामेरा ट्रापिङबाट दोलखामा पहिलो पटक हिउँ चितुवा (अन्सिया अन्सिया ) को उपस्थिति आधिकारिक रूपमा भएको हो ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले गरेको अनुसन्धानको क्रममा विगतमा रेकर्ड नभएको सुनौलो बिरालो (गोल्डेन क्याट ) र हिउँ चितुवा फेला परेका छन् ।

सुनौलो बिरालो (गोल्डेन क्याट )


लप्ची उपत्यकाका बिभिन्न ११ स्थानमा इन्फ्रारेड क्यामरा राखी गरिएको यो अनुसन्धानका क्रममा विगतमा रेकर्ड नभएको सुनौलो विरालो (गोल्डेन क्याट) समेत रेकर्ड भएको छ भने चरिबाघ, कस्तुरीमृग र आसामी (पहरे) बाँदरजस्ता संरक्षित जनावर तथा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो समेत १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु भेटिएको थियो ।

२०७५ साल असोज देखी २०७६ बैशाख सम्म गरेको अनुसन्धानले समुद्री सतहबाट ४०८७ मिटर माथि हिउँ चितुवाको तीनवटा तस्बिर रेकर्ड गरेको हो । यो स्थान लप्ची गाउँबाट ५ कि मि दक्षिण पश्चिम र मुख्य गुम्बाबाट ७ कि मि को दुरीमा चट्टानले घेरिएको घाँटी र खोला छेउमा सुनपाती र धुपीको मसिना बोटहरु भएको उच्च हिमाली घाँसले ढाकेको स्थान हो ।

लप्ची उपत्यका नेपालमा तुलनात्मकरुपमा प्राकृतिक अवश्थामा रहेको हिमाली क्षेत्र हो । यस क्षेत्रमा शेर्पाहरुको बसोबास रहेको छ । साँस्कृतिकरुपमा यस क्षेत्रमा जीवजन्तुहरुको काटमार तथा मासुजन्य पदार्थ उपभोग पूर्णतः बर्जित गरिएको हुनाले वन्यजन्तु संरक्षणको दृष्टिले सुरक्षित मान्न सकिन्छ । सर्वसाधारणले समेत सजिलै वन्यजन्तु अवलोकन गर्न सकिने यस क्षेत्र जैविक विविधताको दृष्टिले महत्वपूर्ण रहेको छ ।

हिउँ चितुवा मध्य एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई अन्तर्राष्टिय संरक्षण संघ (आई.यु.सि.एन.) ले समेत दुर्लभ प्रजातिकोरुपमा सूचीकृत गरेको छ । हिउँ चितुवा विश्वमा १० हजार भन्दा कम संख्यामा जिवित रहेको अनुमान गरिएको छ । नेपालमा यसको संख्या ३०० देखि ५०० मात्र अनुमान गरिएको छ भने यस संरक्षण क्षेत्रमा ३ देखि ५ वटासम्म रहेको अनुमान छ । नेपालको कञ्चन्जंघा, मकालु बरूण, सगरमाथा, लाङ्टाङ, मनासलु, अन्नपूर्ण, शे फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पा क्षेत्र लगायतका हिमाली क्षेत्रहरुमा हिउँ चितुवाको उपस्थितीको रकर्ड गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत “जैविक विविधता अध्ययन अनुसन्धान” शिर्षक अन्तर्गतको यो कार्यक्रम सञ्चालनार्थ आयोजना प्रमुख सत्यनारायण साहको निर्देशन बमोजिम जैविक विविधताको हिशावले महत्वपूर्ण यस उपत्यकाबाट अनुसन्धानकार्य सुरु भएको हो ।

आयोजनाका संरक्षण अधिकृत बिष्णु प्रसाद पाण्डे तथा पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरिङ कलेज, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा. नारायण प्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाका प्राकृतिक श्रोत संरक्षण सहायक शंकरमान थामी र स्तानकोत्तर तहमा अध्ययनरत विद्यार्थी बिजय बस्यालको समुहले लप्ची उपत्यकामा क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान गरेको हो ।

प्रतिक्रिया दिनुहोस

web
analytics