वन्यजन्तु संरक्षणका लागि नेपालमा पहिलो पटक ‘क्यानोपी ब्रिज’ निर्माण



नेपालमा पहिलो पटक वन्यजन्तु संरक्षणलाई मध्यनजर गदैं बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा ६ वटा क्यानोपी ब्रिज परीक्षणको रुपमा निर्माण गरिएको छ ।

पूर्व पश्चिम राजमार्गको अगैयादेखि ओभरी खण्डको ३ ठाउँमा र रत्न राजमार्गको चिसापानी खण्डको २ ठाउँ गरी जम्मा ५ ठाउँमा ६ वटा क्यानोपी ब्रिजहरु (राजमार्गको दायाँ बायाँ रुखमा डोरी टांगेर बनाइएको पुल) परीक्षणको रुपमा निर्माण गरिएको हो ।

पुल निर्माणको मुख्य उद्देश्य अधिकांश समय रुखमा बस्ने बाँदर, लोखर्के जस्ता वन्यजन्तुहरु राजमार्ग ओहोरदोहर गर्ने क्रममा उक्त पुलको प्रयोग गर्ने र त्यसबाट सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी बिष्णु थपलियाले जानकारी दिए । । गत आर्थिक वर्ष २०७५-७६ मा बाँके राष्ट्रिय निकुञ्जमा सडक दुर्घटनामा ४५वटा वन्यजन्तु मरेका थिए ।

यस प्रकारको पुलबाट रुख चढ्ने बाँदर, लोखर्के, मुसा लगायत रुखको हाँगामा बस्ने प्रजातिहरु ओहरदोहर गर्न सजिलो हुने अपेक्षा गरिएको छ । यसरी निर्माण भएको ब्रिजमा कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न  कडब्याक कम्पनीको ९ थान क्यामरा ट्रयाप राखिएको छ । क्यामरा ट्रयाप ६ महिना सम्म राखी नियमित रुपमा अनुगमन गरिने छ । ब्रिज निर्माणको लागि जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग भएको छ । यस प्रकारको काम अन्य देशहरुमा सफल भईसकेकोले नेपालमा पहिलो पटक परीक्षणको रुपमा शुरु गरिएको छ । यस कार्यको लागि डब्लु डब्लु एफ नेपालको हरियो वन कार्यक्रमबाट आर्थिक तथा प्राविधिक सहयोगमा सहकार्य गरेको छ । ब्रिज निर्माण तथा अनुगमनको लागि रु.२ लाख ३१ हजार रकम खर्च हुने अनुमान गरिएको छ । ।

परीक्षणको लागि निर्माण भएको क्यानोपी ब्रिजको विवरण यस्तो रहेको छ ।

१ खैरी क्षेत्र २५ मी. ०.४५ मी. ८ मी.भन्दा बढि
२ मुगुवा क्षेत्र १ २४ मी. ०.४५ मी. ८ मी.भन्दा बढि
३ मुगुवा क्षेत्र २ २२ मी. ०.४५ मी. ८ मी.भन्दा बढि २ वटा पुल एकै ठाउँमा राखिएको
४ चिसापानी क्षेत्र १ १७ मी. ०.४५ मी. ८ मी.भन्दा बढि
५ चिसापानी क्षेत्र २ १४ मी. ०.४५ मी. ८ मी.भन्दा बढि

पूर्व पश्चिम राजमार्गको पूर्वमा बाँके जिल्लाको शिवखोला देखि पश्चिममा कोहलपुर चोक सम्मको ७२ कि.मी. क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको सिमानाभित्र पर्दछ भने रत्न राजमार्गको कोहलपुर चोकदेखि बबईपुल सम्मको ३० कि.मी.क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्दछ । बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली, २०५३ र बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ बमोजिम निकुञ्ज क्षेत्रको राजमार्गमा सवारी साधनको गति ४० कि.मी.प्रति घण्टा तोकिएको छ । तोकिएको गति भन्दा बढि गतिमा सवारी साधन चलाउँदा कहिले काँही उक्त सडक खण्डमा सडक दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने गरेको छ । सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्युलाई न्यूनीकरण गर्नका लागि विभिन्न प्रयासहरु हुँदै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics