पानी र जलवायु परिवर्तन

A+ A-

गोक्यो सिमसार क्षेत्र फोटो- चुङ्बा शेर्पा


पानी जीवन हो । हो हाम्रो जीवन र जीविका पानीबिना कल्पनासम्म पनि गर्न सकिदैन । कृषि उत्पादनका साथै पर्यावरणीय सन्तुलन, जैविक विविधता र सम्पूर्ण मानव, प्राणी एवम् वनस्पती जगत्को केन्द्रिय तत्व नै पानी हो । पानी पिउने, खाना पकाउने, कपडा धुने, नुहाउने काममा मात्र होईन सिंचाई, जलपरिवहन, जलक्रिडामा आधारित पर्यटन, औधोगिक प्रयोजन र जलविद्युत उत्पादनमा निर्विकल्प चिज हो । सजीव जीवनको आधारभुत तत्व पानी केवल बाँच्ने आधारमात्र होइन उद्विकासको प्राथमिक स्थान र सम्पूर्ण वातावरणीय तथा पारिस्थितिक चक्रको सञ्चालक तत्व पनि हो । हाम्रो शरीरका प्रत्येक कोषको करिव ९७ प्रतिशत अंश पानीकै हुन्छ यसर्थ बाह्य मात्र होइन शरीरको आन्तरिक प्रणालीगत कार्यहरु पनि पानी र पानीजन्य पदार्थबाट नै सम्भव हुन्छ ।

पानी नवीकरणीय स्रोत हो र यो “जलचक्र”को माध्यमबाट प्राकृतिक रुपमा नवीकरण भईरहन्छ । पानी नेपालको सबैभन्दा ठूलो प्राकृतिक स्रोत हो । नेपालका ६ हजारभन्दा बढी नदीनालाहरु देशभर रक्तकोशिका जसरी पैmलिएर बगेका छन् जसको लम्बाई करिब ४५ हजार किलोमिटर छ । श्वेत सुन भनिने यी नदीहरुको जलभण्डार क्षमता २ लाख २ हजार मिलियन क्युविक लिटर छ भने सालाखाला जलप्रवाह प्रतिसेकेण्ड ६ सय क्युसेकदेखि १७१४ क्युसेकसम्म पुग्छ । नेपालमा रहेका करिव ५००० ताल, १३८० जलाधार, ५१८३ पोखरीहरु र भुमिगत पानी नै स्वच्छ पानीका स्रोत हुन् । नेपालका नदीहरुबाट आर्थिक तथा प्राविधिकरुपमा करीव ४२ हजार बढी मेगावाट जलविद्युत निकाल्न सम्भव छ भने ८० लाख हेक्टर खेतियोग्य भूमि सिंचाई गर्ने सामथ्र्य छ । नेपालका नदीहरुको उद्गम हिमालको हिउँ र पहाड भएकाले पानी स्वच्छ पिउनयोग्य, जलप्रवाह सदावहार हुनुको साथै पहाडी क्षेत्रमा साँघुरो गल्छी र गहिरो बेशी भएर बग्ने हुंदा नदीहरुमा बाँध बाँधी जलविद्युत उत्पादन र सिंचाई गर्न पनि सरल हुने जस्ता भौतिक सुविधाहरु छन् । अधिकांश नदीनालाहरुको मुहान देशभित्रै भएकोले जलस्रोतको उपभोगमा हामीहरु पूर्ण स्वायत्त छौं ।

हामी जलसाधनमा यति धेरै सम्पन्न भैरहदा यी स्रोत र साधनमा पहुँच र सहि सदुपयोग कति गर्न सकेका छौ ? प्रश्न यहां छ । स्वच्छ पानी पिउनु नागरिकको नैसर्गिक अधिकार भएपनि प्रदुषित पानीका कारण लाग्ने रोगहरु हैजा, झाडापखाला, आउँ, टाइफाइड, कमलपित्त आदिको महामारीमा परी वर्षेनी सयौं जनताले अकालमा ज्यान गुमाउनु परेको छ भने हजारौंले स्वास्थ्य संस्था धाउनु परेको छ । नवौं पञ्चवर्षीय योजनामै समावेश गरिएको शतप्रतिशत जनतालाई खानेपानी उपलब्ध गराउने योजना हालसम्म पनि व्यवहारमा लागु हुन सकेको छैन । शहरमा पानीको अभाव एउटा आतकं छ र ग्रामिण क्षेत्रमा खानेपानीको खोजिमा कोसौ धाउनुपर्ने बाध्यता मात्र होइन पानीकै निँहुमा दिनहु झैझगडाका घटनाहरु घटिरहेका हुन्छन् । राजधानी र अन्य शहरहरु आसपासका नदीहरु अत्याधिक प्रदुषणले मृत भएका छन फलत शहर आपैm मृत भएको छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने अधिकांश र तराई तथा भित्री मधेसका करिव डेढ करोड जनसंख्याको घरेलु प्रयोग र पिउने पानीको प्रमुख स्रोत भूमिगत जलस्रोत हो । साथै तराई तथा उपत्यकामा स्थापित अधिकांश उद्योग, हाउजिंग कम्पेलेक्स, अस्पताल, सरकारी भवन आदि पनि यही स्रोतमा निर्भर छन् । तर हालको बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, जलवायु परिवर्तन र भूमिगत जलस्रोतको अनियन्त्रित प्रयोगले ति स्रोतहरुमा ह्रास आईरहेको छ ।

यिनै चुनौतीहरुका माझ पानीका स्रोतको अनुसन्धान, संरक्षण, व्यवस्थापन र दिगो गुणस्तरिय प्रयोगका पक्षमा छलफल, अन्तरक्रिया र जनचेतना अभिवृद्धि गर्न चैत्र ९ अर्थात मार्च २२ का दिन विश्वव्यापीरुपमा पानी दिवश मनाउने गरीन्छ । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न वातावरण र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलनले प्रत्येक वर्ष मार्च २२ लाई विश्व पानी दिवशको रुपमा मनाउने निर्णय गरेअनुरुप सन् १९९३ मार्च २२ देखि विश्व पानी दिवश मनाउन सुरु गरियो । नेपालमा भने सन् २००८ बाट मात्र यो दिवश मनाउन थालिएको हो । यस वर्षको विश्व पानी दिवशको मुल नारा “पानी र जलवायु परीवर्तन” भन्ने छ । जलवायु परिवर्तनले आज वाटर टावर भनिने अग्ला हिमाली क्षेत्रमा ठूलो प्रभाव पारिरहेको छ र तिनमा आश्रित करोडौं मानिस जोखिममा छन् । अग्ला हिमालका शिखरमा अन्यत्रभन्दा धेरै हिउँ जम्छ जसले विशाल ट्याङ्कीजस्तै काम गर्छन् । हिउँ पर्छ, ट्याङ्की भरिन्छ अनि विस्तारै दिन, साता, महिना वा वर्षभरि विस्तारै पग्लिन्छ र पानीलाई नियन्त्रित रूपमा बग्न सहयोग पुग्छ । दशकौंदेखि वैज्ञानिकले जलवायु परिवर्तनले अग्ला हिमालका वाटर टावरमा जम्मा भएको पानीको परिमाण र त्यो पानी बग्ने बाटो प्रभावित हुदै आएका छन् ।

मौषम परिवर्तन, विषादीहरुको अधिक प्रयोग, जनसंख्या वृद्धि र बढ्दो वन विनाशका कारण जलस्रोतका मुहान सुक्ने र जलाधारहरु प्रदुषित हुदै गईरहेको अवस्थामा स्वच्छ पानीको अभाव प्रमुख चुनौतिको रुपमा विकास हुदैछ । कतिपय बुझाईमा जलस्रोत भनेको जलविद्युत मात्र हो भन्ने पनि छ तर विजुली त सौर्य, वायु, खनिज इन्धन तथा आणविक भट्टिहरुबाट पनि उत्पादन गर्न सकिन्छ तर पिउने पानीको विकल्प छैन । आज काठमाडौं लगायतका ठुला शहरहरु घनाबस्तीले भरिदै जांदा पिउने पानीको अभावले शहरी विकासलाई ठाडो चुनौति दिएको छ । शहर किनारका नदीहरु अब नदी रहेनन् फोहर विषर्जन स्थल र ढलमा रुपान्त्रित भएका छन् । यस अवस्थामा पानीका स्रोत र जलाधार क्षेत्रको संरक्षण, भुमिगत पानीको रिचार्ज र शुद्ध पिउने पानीको सहज र सर्वसुलभ उपलब्धताको व्यवस्था नितान्त जरुरी छ । शहरीकरणको विस्तारसगैं खानेपानी वितरणको दिगो व्यवस्थापन बारे बेलैमा सोच्नुपर्दछ । जलवायु परीवर्तनले पनि जलस्रोत र जलचक्रमा नै असर गरीरहेको वर्तमान अवस्थामा यसको दिगो उपयोग र संरक्षणमा बेलैमा सोच्नु जरुरी छ । पानीको प्रयोग र संरक्षणमा हामी प्रत्येक नागरीक आपैm पनि सचेत हुनुपर्छ । र अन्तयमा जलवायु परिवर्तनले निम्त्याउने प्रकोप न्युनिकरणलागि चाहिने पानी नै हो ।

प्रतिक्रिया दिनुहोस

web
analytics