कञ्चनजंघा हीरक महोत्सवको तयारी

कञ्चनजंघा हिमालमा मानव पाइला टेकेको ६० वर्ष पुरा भएको अवसरमा हिरक महोत्सव मनाउने तयारी भएको छ । कञ्चनजंघा हिमालको सम्मान र प्रचार प्रसारका लागी पर्यटन मन्त्रालय र नेपाल पर्वतारोहण संघको अग्रसरतामा मंसिर ७ देखि ९ गतेसम्म ताप्लेजुङको सुकेटारमा हीरक महोत्सव मनाउने तयारी भएको हो ।

पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले सो बारे तयारी गरिरहेको छ । नेचर नेपाल अनलाइनसँग कुरा गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले भने ‘महोत्सवमा विभिन्न देशका पर्वतारोहण पदाधिकारी सहित ३ सय ५० भन्दा बढी सफल पर्वतारोहीको सहभागीता रहने छ ।’

महोत्सवले अन्तर्राष्ट्रिय क्षेत्रसम्म नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने विश्वास लिइएको छ । यो महोत्सवले कञ्चनजंघा क्षेत्रको विग्रदो अवस्थामा केहि हदसम्म सुधार आउन सक्छ । हीरक महोत्सव समितिका सचिव वलवहादुर तामाङका अनुसार ‘महोत्सवलाई लक्षीत गर्दै कञ्चनजंघा मा १२ दिने सरसफाई अभियान कार्यक्रम आयोजना गरिएको छ । उक्त सरसफाई पि.के शेर्पाको संयोजकत्वमा मंसिर ५ गते सम्पन्न हुनेछ ।’

तीन दिन सम्म चल्ने महोत्सवमा स्थानिय विभिन्न संस्कृति झल्किने झाँकीहरु प्रदर्शन हुनेछन् । कञ्चनजंघा पाथिभरा टुर प्याकेज र पाथिभरा प्याराग्लाइडिङ महोत्सवका मुख्य आकर्षक कार्यक्रम हुन् ।



८ हजार ५ सय ८६ मिटर उचाइ रहेको कञ्चनजंघा हिमाल ताप्लेजुङको उत्तरी भेगमा पर्छ । यो जैविक विविधता तथा वन्यजन्तु संरक्षणका दृष्टिकोणले समेत प्रसिद्ध छ । सो क्षेत्रलाई सरकारले कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना घोषणा गरेको छ । कंचनजंघा क्षेत्रलाई सरकारले वेवास्ता गर्दा राष्टिय तथा अन्तर्राष्टिय रुपमा कंचनजंघाको प्रचार प्रसार हुन सकेको छैन । हीरक महोत्सव समितिका सचिव तामाङले भने ‘पुग्ने बाटो पनि छैन ।’ कञ्चनजंघा हिमालको विकास र प्रचारको लागी खासै उपलब्धिमुलक काम हुन नसकेको बताउँदै उनले भने ‘कञ्चनजंघा हिमाल हेर्न जाने पैदल यात्रुलाई बेसक्याम्प सम्म जाने बाटोको निर्माण गरीनु आवश्यक छ ।’



नेपालले कञ्चनजंघा संरक्षण क्षेत्र सन् १९९७ मा स्थापना गरेको थियो । मुख्यतः रेडपान्डाका लागि प्रख्यात यो संरक्षण क्षेत्र विश्वमै चर्चित छ । सन् २०१५ मा कञ्चनजंघा संरक्षण क्षेत्रमा ७३१ विदेशी पर्यटक पुगेका थिए । २ हजार ३५ वर्गमिटर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा पर्छ । ताप्लेजुङ जिल्लामा ७ हजार मिटर भन्दा अग्ला हिमाल १० वटा भन्दा बढी रहेका छन् ।



कञ्चनजंघा हिमाल नेपालको दोस्रो अग्लो हिमशिखरको रुपमा रहेको छ भने विश्वको तेस्रो अग्लो हिमालको रुपमा पनि चिनिने गरेको छ ।कञ्चनजंघा हिमश्रृंखलामा प्रमुख ५ हिमालहरू रहेका छन् । यी मध्ये सबैभन्दा ठुलो कञ्चनजंघा (पाँच चुलीको हिमाल० ८ हजार ५ सय ८६ मिटर अग्लो छ । यसैगरी अन्य चारवटा यालुङकाङ ८ हजार ५ सय ५ मिटर, काङवाचेन ७ हजार ९ सय ३ मिटर, किराँत चुली ७ हजार ३ सय ६५ मिटर र कुम्भकर्ण ७ हजार ७ सय १० मिटर उचाइमा रहेको छ । नेपालमा ८ हजार मिटर भन्दा अग्ला हिमालहरु ८ ओटा रहेका छन् ।


(कञ्चनजंघाको फोटो गुगलबाट लिइएको हो ।)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics