आनुवंशिक स्रोतसम्बन्धी तालिम सम्पन्न
- नेचर खबर

वन तथा भू–संरक्षण मन्त्रालय र कैलाश पवित्र भूपरिधि विकास पहल कार्यक्रमको आयोजनामा आनुवंशिक स्रोतहरुमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न तालिममा सुदुर पश्चिमाञ्चल क्षेत्रका जिल्ला वन अधिकृत, राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत, वनस्पति अधिकृत, क्षेत्रीय वन निर्देशनालय तथा तालिम केन्द्रका अधिकृत लगायतको सहभागिता रहेको थियो ।
भदौ १२ गतेबाट सञ्चालित ४ दिने तालिममा नेपालको जैविक एवं आनुवंशिक विविधताको अवस्था र तिनको महत्व, जैविक विविधता महासन्धि १९९२, र नागोया अभिसन्धिका प्रावधानहरु, नेपालको जैविक तथा आनुवंशिक स्रोत, आनुवंशिक पदार्थ तथा सो को उपयोग सम्बन्धी वैज्ञानिक तथा परम्परागत ज्ञानको पहिचान, संरक्षण, सम्बर्द्धन सम्बन्धी छलफल भएकाे थियाे ।
यसकाे दिगो उपयोग, अध्ययन अनुसन्धान, अन्वेषण तथा निर्यातबाट सिर्जित लाभको समन्यायिक बाँडफाँड, त्यस्ता स्रोत, पदार्थ तथा परम्परागत ज्ञानको संरक्षण गर्दै आएका आदिवासी जनजाति लगायतका स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, खोज, प्रविधि र अभ्यास सम्बन्धी हक हितको संरक्षण आनुवंशिक स्रोतहरुको दाता र उपभोक्ता दुबैलाई कानुनी निश्चितता र पारदर्शीता, आदिवासी तथा स्थानीय समुदायका ज्ञान, नयाँ परिवर्तनकारी प्रयास तथा अभ्यासहरुको प्रयोगबाट प्राप्त हुने लाभ लिन यी समुदायको क्षमता विकास तथा प्रस्तावित जैविक तथा आनुवंशिक स्रोत (पहुँच, उपयोग र लाभको बाँडफाँड) सम्बन्धी विधेयक सम्बन्धमा प्रशिक्षण, अन्तर्क्रिया एवं अभ्यास गरिएको थियो ।
जैविक विविधता विज्ञ प्रा.डा. रामप्रसाद चौधरी, कानून विज्ञ डा.दिनमणि पोखरेल, वन तथा भू–संरक्षण मंत्रालयका सहसचिव डा. महेश्वर ढकाल, उपसचिव धनन्जय लामिछाने, आइयूसिनका डा. यादव उप्रेती, इसिमोडका लक्ष्मीदत्त भट्टले प्रशिक्षण दिएका थिए । स्थानीय एवं सामुदायिक स्तरमा जनचेतना जगाउन तथा क्षमता अभिवृद्धि गर्न यस तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस