दिगो एसिया निर्माणका लागि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन



जलवायु परिवर्तन तथा अन्य वातावरणीय विनासका कारण उत्पन्न समस्याले हिन्दकुश हिमालय क्षेत्रमा पारेको असर र समस्यासँग जुध्दै एसियाको दिगो भविष्य निर्माणका उपायमाथी छलफल गर्न (रेजिलेन्ट हिन्दकुश हिमालय ः डिभेलोपिञ् सोलुसन टुवार्डस् सस्टिनेबल फ्युचर फर एसिया) राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुँदैछ ।

एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को आयोजनामा शनिवारदेखि बुधवारसम्म छलफल हुँदैछ । सम्मेलन जलवायु परिवर्तन तथा अन्य वातावरणीय समस्याका कारण उत्पन्न भएको परिस्थिति तथा समस्यासंग जुध्ने उपाय खोज्न केन्द्रित हुनेछ । इसिमोडले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी तीनसय ५० भन्दा बढी सहभागी हुने जानकारी दिएको छ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार तथा अफगानिस्तानलगयातका देशका उच्च पदस्थ कर्मचारी तथा मन्त्रीहरुसमेत सहभागी हुँदैछ ।

सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा अन्य विभिन्न कारणले असर भोगिरहेका स्थानीय बासिन्दा, युवा, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहनेछ ।

इसिमोडका महानिर्देशक डा. डेभिड मोल्डनले हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दाले भोगिरहेका समस्यासँग जुध्न विशेष प्रकारका उपायभाथी छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले भने, संसारभरिका विभिन्न उपाय र हाम्रा आफ्नै मौकिल उपायमाथी पनि यो सम्मेलनले छलफल गर्नेछ । सम्मेलनमा पोष्टर, तस्वीरपनि प्रदर्शनीमा राखिनेछ । ती सबै प्रदर्शनीमा जलवायु परिवर्तनका कारण उत्पन्न अवस्थासँग जुध्न र समायोजना हुने उपायहरू उल्लेख हुनेछन् ।सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याती कमाएका विज्ञहरुको प्रस्तुति तथा छलफलसमेत रहनेछ ।

सम्मेलनका संयोजक नन्द किशोर अग्रवालले एसियाली हिमाल र हिमाली क्षेत्रका समस्यामाथि गम्भीर छलफलका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिए । एसियाको दिगो विकासका लागि गर्न सकिने योगदान तथा यो क्षेत्रमा देखिएका समस्या समाधानमै छलफलहरु केन्द्रित हुनेछन् । हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै बसाइ सराई तथा अरू वातावरणीय समस्या झन् जटिल विषयमा रूपमा अघि आइरहेको उल्लेख गर्दै स्थानीय बासिन्दाको जीवन सहज र समस्यारहित बनाउन उपायहरू खोजी गर्ने अग्रवालले बताए ।

हिन्दकुश हिमालय क्षेत्र ठुला १० नदीको उद्गम स्थल हो । जसले एसियाका १२० मिलियन जनताका लागि खानेपानी तथा सिंचाइ लगायतका सुविधा उपलब्ध गराउदै आएको छ । एसियाका लागि यति महत्त्वपूर्ण रहेको हिन्द कुश हिमालय क्षेत्रमा अहिले जलवायु परिवर्तनका कारण धेरै समस्या उत्पन्न भइरहेका छन् । तिनै समस्या समाधानका लागि सम्मेलनले महत्त्वपूर्ण योगदान गर्न सक्ने आयोजकहरुको अपेक्षा छ ।

सम्मेलनले निकालेका निष्कर्ष तथा तय गरेका एजेन्डा  अन्तर्राष्ट्रिय  समुदायसमक्ष राखिने जानकारी डा. मोल्डनले दिए । त्यसै गरी ती निष्कर्ष विभिन्न देशका सरकार तथा सरोकारवाला निकायसमक्ष प्रस्तुत गर्ने र त्यसबाट प्राप्त गर्न सकिने अवसर तथा उपायबारे गहिरो छलफल गर्ने योजना रहेको पनि इसिमोडले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics