समुहले बनायो व्यवसायिक कृषक


बाग्लुङ मल्म गाविसकी दुर्गा बस्नेत समुहबाट ऋण लिएर कृषि गरी निकै आम्दानी गर्न सफल भएकी छिन् । स्थापना कालदेखि नै प्रगति कृषि समुहमा आवद्ध रहेर कृषि कार्य थालेकी बस्नेतले अहिले आफ्नै बारीमा टमाटर, बेसार, अदुवा, काउली, प्याज लगयातको खेती गर्दै आइरहेकी छिन् । साथै उनले मौरी पालन र सुन्तला खेति पनि गरीरहेकी छिन् ।
कृषि समुहको एउटा नमुना उदाहरण हो प्रगति कृषि समुह । मल्म गाविसको वडा नं ७, ८ र ९का महिला यहि समुहमा मिलेर कृषि कार्य गर्दै आइरहेका छन् । सुरुमा ४२ जना सदस्य भएर निर्माण गरिएको यो समुहमा हाल २८ जना मात्र सदस्य रहेका छन् । हाल बस्नेत समुहकी अध्यक्षसमेत रहेकी छन् ।
समुहमा रहेर नै आर्थिकस्थिति सुधारका लागी कृषिमा सक्रिय रहदै आएका यी वडाका महिलाले कृषि भवन समेत निर्माण गरिसकेका छन् । उनिहरुले सामाजिक विकास निर्माणका कार्यहरु बाटो निर्माण लगायतका कार्यपनि गर्दै आइरहेका छन् ।
प्रगति कृषि समुहले समुहमा आवद्ध रहेका सदस्यबाट मासिक १ सय रुपैयाँ जम्मा गर्ने गरेको छ । यसैबाट आवश्यक पर्ने किसानलाई ऋण उपलब्ध गराउने गरेको छ । यो पैसाले किसानहरुले आवश्यक पर्ने कृषि सामग्री खरीद गर्ने र आफ्नो कृषि व्यवसायलाई बृद्धी गर्दै लैजाने गर्दै आइरहेका छन् ।
समुहका कोषध्यक्ष समेत रहेकी बिष्णु थापा भन्छिन् ‘समुहमा मिलेर काम गरेकाले नै हाम्रो कृषि अवस्थामा सुधार आएको छ ।’ समुहमा आवद्ध महिलाहरु सबै अहिले कृषिलाई व्यवसायिकतातर्फ उन्मुख गराउँदै राम्रो आम्दानी समेत गर्न थालेका छन् । कुखुरापालन लगायतका व्यवसायमा पनि यहाँका महिलाहरुको अभिरुचि बढ्दै गएको छ ।

बजारीकरणको समस्या


उत्पादन राम्रो भएपनि उचित बजारको व्यवस्थापन हुन नसकेकाले उत्पादित सामग्री बिक्रिवितरणमा समस्या रहेको छ । उत्पादन गरेर पनि बेच्ने ठाउँको अभाव रहँदा यहाँका किसानलाई समस्या परेको छ । समुहकी सदस्य रहेकी उमा थापा भन्छिन् ‘कृषि गरेरै जिविकोपार्जन गर्दै आइरहेकी छु । उत्पादन पनि राम्रै छ, लगेर बेच्ने ठाउँ नहुँदा चाहिँ कहिलेकाहीँ सित्तैमा अरुलाई दिनुपर्ने हुन्छ ।’
पछिल्ला दिनहरुमा बजार व्यवस्थापनमा समस्या भएपछि खेती गर्ने किसान निराश बन्दै गएका छन् । उत्पादन धेरै भएपछि विक्रिगर्न समस्या हुन्छ । यसले किसानमा नैराश्यता ल्याएको छ । पछिल्लो समय बढेको बैदेशिक रोजगारतर्फको आकर्षणले समुहमा मिलेर कृषि गर्ने संख्या घटेको हो । तर पनि कृषिमा संलग्न यहाँका महिला समुहमा कृषिकार्य गरेर राम्रो आम्दानि गर्न सकेको बताउँछन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics