चक्रपथ सडक खण्डमा तीन हजार बिरुवा रोपिदै
- नेचर खबर
चक्रपथ सडक खण्डमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको छ ।
मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार ३०० राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।
असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए । ‘उपलब्ध भएसम्म सरकारी वनका नर्सरी र निजी नर्सरीबाट खरीद गरेर वृक्षरोपण गर्छौं, स्थानीय तह र सडक विभागसँग समन्वय गरी तयारी थालेका छौँ’, उनले भने ।
चक्रपथ क्षेत्रको माटोमा ढुङ्गागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी सो खाल्डोमा प्राङ्गारिक मल र माटोले पुरेर मात्र वृक्षरोपण गरिनेछ ।
सङ्घीय सरकारले आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ घोषणा गरेकाले त्यसको पूर्वतयारीका लागि वृक्षरोपण गर्न लागिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस