च्याउ : कस्तो खाने, कस्तो नखाने ?

काठमाडौं - च्याउ उत्पादन हुने खास सिजन भनेको, वर्षायाम हो । वर्षायाममा पढिने, सुनिने  समाचार हो, ‘विषाक्त च्याउ खाएर मृत्यु ।’ नेपालमा विषालु च्याउ सेवन गर्दा बर्षेनी औसत ३० जनाभन्दा बढीले ज्यान गुमाउने गरेका तथ्यांक छ । जंगली च्याउ खाएर बर्षेनी धेरैले ज्यान गुमाउँछन् ।

यस्तै घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका-६ का दुई जनाको मृत्यु भएको छ। जङ्गली च्याउ खाएर बिरामी परेका बौदिकाली-६ माझडाँडाका ९९ वर्षीया लीला आले र ६६ वर्षीया उमाकुमारी आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले बताए।

उनीहरूले साउन ५ गते स्थानीय जङ्गलबाट टिपेको च्याउ खाएका थिए। च्याउ खाएपछि पाँच जना बिरामी भएका थिए। एसपी तिवारीका अनुसार बिरामी भएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली उपचारपछि निको भएका छन्। त्यसैले कस्ताे च्याउ खाने ? कस्ताे नखाने भन्ने समयमै थाहा हुनुपर्छ ।

सबै च्याउ विषालु हुँदैन । कति च्याउ खान योग्य मात्र हुँदैन, स्वादिलो र स्वस्थ्यकर पनि हुन्छ । यसमा प्रोटिन, मिनिरल्स, तथा विभिन्न प्रकारका भिटामिन पाइनुका साथै एमिनो एसिड पाइन्छ ।



कति स्वस्थ्यकर ?

एमिनो एसिड शारीरिक वृद्धि विकासको लागि निकै आवश्यक हुन्छ । यसमा फ्याट तथा कोलेस्टोरको मात्रा कम हुन्छ । त्यसैले यो सजिलै पच्छ । च्याउमा एन्टी ट्युमर तत्व हुनाले नियमित रुपमा च्याउ खानाले यसले शरीरमा भएको ट्युमर नियन्त्रण हुन्छ । उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणका लागि पनि च्याउ उपयोगी हुन्छ ।

कस्ता कस्ता हुन्छ ?

च्याउ विशेषतः खान हुने, तितो, विषालु तथा काम नलाग्ने गरी जम्मा चार प्रकारका हुन्छन् ।

खान हुने च्याउलाई गोब्रे च्याउ अथवा पाता च्याउ पनि भनिन्छ । यो कृतिम तरीकाले उमारिन्छ । यस्ता कृतिम तरीकाले उमारिएको च्याउ सजिलै पहिचान गर्न सकिन्छ ।

गर्मी महिनामा पाइने च्याउ सेतो खालको हुन्छ । जाडो याममा उम्रने च्याउ कालो तथा खैरो रङ्गको हुन्छ । यस्ता च्याउ प्रायः खान लायकका हुन्छ ।

अर्को प्रकारको च्याउ स्वादमा तितो हुन्छ । यस्ता खान मिल्ने यस्ता च्याउ तरकारीमा भन्दा औषधीको रुपमा बढी प्रयोग हुन्छ । यार्सागुम्बा, गोर्चेला यसका प्रकार हुन् ।

कस्तो च्याउ नखाने ?

– तिख्खर गन्ध आउने, रंगिन च्याउ प्राय विषालु हुन्छ ।

– बैजनी तथा गाढा रातो रंगका च्याउ बिषालु हुन्छ ।

– बिषालु च्याउमा किरा लाग्दैन । त्यसैले यस्ता च्याउ हेर्दा आकर्षक देखिन्छ ।

– च्याउलाई कुखुराको अन्डा वा दुधमा राख्दा केहि समयपछि अन्डा जम्छ वा दुध फाट्छ भने त्यो खानयोग्य च्याउ होइन ।

– कतिपयले चाँदीको चम्चा डुवाउदा पानी निलो अथवा कालो भएमा वा चम्चा नै निलो भएमा च्याउ विशालु हो भनेर चिनिन्छ भन्ने मान्यता रहिआएको छ ।

– टिम्मुरले च्याउको विशादी नाश गर्छ भन्ने पनि मान्यता छ । तर यसको कुनै वैज्ञानिक आधार देखिदैन ।

सावधानी

– सकेसम्म आफुले नचिनेको च्याउ सेवन नगरौं ।

– दुईथरी च्याउलाई एकसाथ मिसाएर पकाउनु हुन्न ।

– च्याउ खान हुने भनेर ढुक्क भएपछि मात्र च्याउ सेवन गरौ ।

– च्याउलाई प्लाष्टिक वा स्टिलको भाँडमा गुम्साएर नराख्ने ।

– च्याउलाई खुला रुपमा भण्डारण गर्ने ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics