गाउँमै मेवा खेतीमा रमाउँदा…

मन्थली - कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहेका छन्र । उनको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ । उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री गर्छन्। बजारमा मेवाको मूल्य प्रतिकेजी रु एक सयभन्दा माथि नै रहेको छ ।

व्यवसायी तामाङले भने, “ सात वर्ष कोरियामा मासिक रु दुई लाखभन्दा बढी तलबमा काम गरेँ । कोरोना महामारीको असर परेपछि स्वदेश फर्किएँ । गाउँमै मेवा फार्म दर्ता गरेर घरमै बस्ने निधो गरेँ । मेवा लगाएँ डेढ दुई वर्ष भित्रनै उत्पादन दिन थाल्यो ।”

पर्याप्त मेवा उत्पादन हुन थालेपछि उनले यतिमा नै सन्तोष मानेनन्। उनले चकलेट र जुस बनाउने उद्योग गाउँमै स्थापना गर्ने तयारी गरेका छन् । “चाँडै काम भइदियो भने केही महिनामा उद्योग सञ्चालन गर्ने अवस्थामा पुग्छु”, उनले भने “थकाइ मार्दिन, आफ्नै माटोमा केही गरेर देखाउँछु ।” तामाङको मेवा खेती गरिएको –८ गागल जिल्ला सदरमुकामबाट झण्डै २५ किलोमिटर पश्चिममा पर्दछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics