अध्ययनले भन्छ – ‘यौन हिंसा बढ्नुको एउटा कारण बढ्दो तापमान पनि हो’
- नेचर खबर
काठमाडौं – जलवायु परिवर्तनसँगै तापमान बढ्दो क्रममा छ । यसको असर सबैभन्दा बढी प्रकृतिमा त देखिएको छ नै, कृषि र पशुपालनमा पनि देखियो । तर, पछिल्लो एक अध्ययनका अनुसार यौन हिंसा बढ्नु पनि यसकै कारण हो ।
नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूमा गरिएको अध्ययनका अनुसार बढ्दो तापमानसँगै महिलामाथिको घरेलु तथा यौनजन्य हिंसामा तीव्र रूपमा वृद्धि भैरहेको छ । यो समस्या अझै बढी नेपाल, भारत तथा पाकिस्तानमा देखिएको छ ।
अध्ययन अनुसार विश्व उष्णीकरणको असर निजी सम्बन्धमा पनि पर्न थालेको छ र महिलामाथि अन्तरंग पार्टनरबाट हुने हिंसामा बढोत्तरी भैरहेको छ । हरेक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले महिलामाथिको शारीरिक तथा यौन हिंसामा ६.३ प्रतिशतले बढ्ने अध्ययनको निष्कर्ष छ ।
नेपाल, भारत तथा पाकिस्तानका १५ देखि ४९ वर्ष उमेरका एक लाख ९४ हजार महिलामा गरिएको अध्ययनका क्रममा तापक्रम वृद्धिसँगै महिलाहरूमाथि भावनात्मक, शारीरिक तथा यौन हिंसाका घटनामा वृद्धि भैरहेको पाइएको हो ।
सन् २०१० को अक्टोबर १ देखि सन् २०१८ को अप्रिल ३० सम्म संकलित तथ्यांकका आधारमा तयार पारिएको उक्त शोध रिपोर्ट JAMA Psychiatry मा प्रकाशित भएको छ ।
बेलायत, चीन, पाकिस्तान, अष्ट्रेलिया, जर्मनी र तान्जानियाका वैज्ञानिकहरूको एक समूहले उक्त अध्ययन गरेको हो । अध्ययनमा इपिडिमियोलोजी तथा अधिक तापक्रमसँगको तुलनात्मक डाटा विश्लेषणका क्रममा बढ्दो तापक्रमसँगै महिलामाथि अतरंग पार्टनरको हिंसाका घटनामा वृद्धि भएको उल्लेख छ ।
शोधकर्ताका अनुसार वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले इन्टिमेट पार्टनर भाएलेन्स (आईपीभी) को मात्रा ४.९ प्रतिशतले बढ्दछ । यसमा सबैभन्दा धेरै शारीरिक हिंसा रहेका छन् । शारीरिक हिंसा २३ प्रतिशत रहँदा भावनात्मक हिंसाको मात्रा १२.५ र यौन हिंसा ९.५ रहेको पाइयो ।
शोधकर्ताहरूले यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिका कारण हुने अन्तरंग पार्टनरको हिंसामा २१ प्रतिशतले वृद्धि हुने आँकलन गरेका छन् ।
जलवायु परिवर्तन तथा उष्णीकरणको दरलाई कम गर्न नसकिएमा महिलामाथिको हिंसामा झनै बढोत्तरी हुनेछ । जसबाट सन् २१०० सम्ममा शारीरिक हिंसाका घटनामा २८.३ प्रतिशत, यौन हिंसा २६.१ प्रतिशत र भावनात्मक हिंसा ८.९ प्रतिशत पुग्नेछ ।
अध्ययन अनुसार जलवायु परिवर्तन तथा तापमान वृद्धिसिर्जित महिलामाथिको अन्तरंग पार्टनर हिंसा (आईपीभी) सन् २०९० सम्म बढेर २३.५ प्रतिशत पुग्नेछ । अर्थात् सन् २०९० सम्ममा भारत सर्वाधिक आईपीभी हुने मुलुक बन्नेछ । दोस्रो स्थानमा १४.८ प्रतिशत सहित नेपाल हुनेछ । त्यस्तै पाकिस्तान भने ५.९ प्रतिशत सहित सबैभन्दा कम आईपीभी हुने देश रहनेछ ।
तापक्रम वृद्धिका कारण बालीनाली उत्पादनमा कमी आउनुका साथै विभिन्न खालका रोगब्याधीमा समेत वृद्धि भैरहेको छ । उत्पादनमा कमी र प्रकोपमा वृद्धिका कारण मानिसहरूको आर्थिक अवस्था समेत कमजोर हुने गर्दछ ।
तापमान वृद्धिका कारण बाहिर काम गर्न जाने दरमा समेत कमी आउने र राम्रोसँग काम गर्न समेत नसकिने अवस्थाका कारण परिवारहरूमा खर्च धान्नका लागि दबाब बढ्दै गएको छ । यसले व्यक्तिहरूमा तनाव बढाएको छ । यस्तोमा घरेलु हिंसामा पनि वृद्धि भैरहेको छ ।
कम आय भएका परिवारहरूमा तथा ग्रामीण इलाकामा सबैभन्दा धेरै घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । यसअघि स्पेनको म्याड्रिडका वैज्ञानिकहरूले यस विषयमा पहिलोपटक अध्ययन गरेका थिए । उनीहरूले केन्याका महिलामाथि अध्ययन गरे । त्यसक्रममा बढ्दो तापमानसँगै अन्तरंग पार्टनरबाट हुने महिलाको हत्यामा ४० प्रतिशत बढेको पाइएको थियो । त्यस्तै दुई मानिसबीच हुने हिंसाको दरमा २.३ प्रतिशतले र समूहबीचको हिंसामा १३.२ प्रतिशतले वृद्धि भएको पाइएको थियो ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस