महासागरहरूको तापक्रममा नयाँ रेकर्ड, के पर्छ असर ?

तस्बिर : एएफपी


काठमाडौं – विश्वका महासागरहरूले आफ्नो तापक्रममा नयाँ रेकर्ड कायम गरेका छन् । यस वर्षको अप्रिलदेखि औसत समुन्द्रको तापक्रमले यस अघिका मौसमी रेकर्डलाई हराएको छ । विज्ञ भन्छन्, ‘यो जलवायु परिवर्तनको कारण हो । यसले पृथ्वीको जलवायु, सामुद्रिक जीवन र तटीय समुदायहरूलाई खतरामा पार्न सक्छ ।’

युरोपेली संघको जलवायु पर्यवेक्षकको तथ्यांकअनुसार शुक्रबार महासागरको सतहको तापक्रम २०.९६ डिग्री सेल्सियस (६९.७१ फरेनहाइट) मा पुगेको छ । पछिल्लो रेकर्ड मार्च २०१६ मा २०.९५ डिग्री सेल्सियस (६९.७१ फरेनहाइट) थियो ।

विज्ञ र मौसमी रेकर्डका अनुसार यस वर्षको अप्रिलदेखि औसत समुन्द्रको तापक्रमले मौसमी रेकर्डलाई हराएको छ । न्यानो महासागरहरूले केही प्रजातिहरूको बसाइँसराइ र आक्रमणकारी प्रजातिहरूको फैलावटसहित समुद्री बोटबिरुवा र जनावरहरूको जीवनलाई असर गर्ने विज्ञ बताउँछन् । उनीहरूका अनुसार, जसले विश्वका केही भागहरूमा खाद्य सुरक्षालाई कमजोर बनाउन सक्छ ।

‘समुद्रको तापको लहर केही समुद्री जीवनका लागि तत्काल खतरा हो,’ लीड्स विश्वविद्यालयको जलवायु केन्द्रका पियर्स फोस्र्टरले भने, ‘हामीले फ्लोरिडामा कोरल ब्लीचिङलाई प्रत्यक्ष परिणामको रूपमा देखिरहेका छौं र म आशा गर्छु कि थप प्रभावहरू सतहमा आउनेछन् ।’ वैज्ञानिकहरूले औद्योगिक युग सुरु भएदेखि नै मानवले उत्पादन गरेको अतिरिक्त तापको ९० प्रतिशत महासागरले ग्रहण गरेको देखेका छन् ।

वैज्ञानिकका अनुसार अत्याधिक गर्मी हरितगृह ग्यास संगै जम्मा भएको छ । ‘त्यहाँ पक्कै पनि छोटो अवधिका कारकहरू छन् । मुख्य दीर्घकालीन कारण भनेको निसन्देह मानव गतिविधिको कारण वायुमण्डलमा हरितगृह ग्यासहरू जम्मा हुनु हो । मुख्यतया जीवाश्म ईन्धनहरू जलाएर यो समस्या सुरु भएको देखिन्छ,’ जलवायु अनुसन्धानका निर्देशक रोवन सट्टनले भने ।

वैज्ञानिकहरूले पानीलाई न्यानो पार्ने एल निनो घटनाको सबैभन्दा नराम्रो प्रभाव यस वर्षको अन्त्यमा महसुस हुने र भविष्यमा पनि रहने भविष्यवाणी गरेका छन् । आगामी नोभेम्बरमा दुबईमा हुने संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन (कोप २८) मा जीवाश्म इन्धनको प्रयोगले बहसको नेतृत्व गर्नेछ ।
–एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics