जलवायु परिवर्तनको असरले नेपाल ‘भोकमरीको जोखिम पर्दै’
- नेचर खबर
काठमाडौं – विश्वव्यापी जलवायु परिवर्तन, बढ्दो आप्रवासन तथा द्वन्द्वले नेपाल जस्ता देशसमेत निकट भविष्यमै भोकमरीको जोखिममा पर्न सक्ने एक अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था इफ्प्री, सार्क, विमिस्टेकलगायतका संस्थाले केही अघि सार्वजनिक गरेको विश्व खाद्य प्रतिवेदनमा ४५ देशका २० करोड मानिसले अहिले पनि चाहे जति खाद्यान्न पाउन नसकेको उल्लेख छ ।
प्रतिवेदनले भविष्यका लागि तत्काल जलवायु परिवर्तनसँग जुध्ने कृषि प्रणाली विकास गर्ने नसके नेपाल जस्ता देशले पनि भोकमरीको संकट भोग्नुपर्ने औंल्याएको हो । सन् २०२१ सम्म ७६ करोड मानिस कुपोषित रहेको तथ्यांक यसअघि नै सार्वजनिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । जबकि सन् २०१४ मा यस्ता मानिसको संख्या ५७ करोड थियो । यो जलवायु परिवर्तनको असरलगायतका कारण भएको दाबी प्रतिवेदनले गरेको छ ।
कोभिड महामारी लगत्तै खाद्य, इन्धन र मलको मूल्य बढेकाले नेपाल जस्ता देशमा पनि खाद्यान्नको मूल्य ३२ प्रतिशतले वृद्धि भएको थियो । प्रतिवेदनले जलवायु परिवर्तनकै कारण सन् २०५० सम्म थप ७ करोड २ लाख मानिस कुपोषित हुने प्रक्षेपण गरेको छ ।
कृषि मन्त्रालयका अधिकारीहरू खाद्य सुरक्षा कायम गर्न नेपाल सरकारले आवश्यक तयारी गरिरहेको दाबी गर्छन् । नेपाल कृषि अनुसन्धान परिषद् तथा कृषि सूचना केन्द्रले देशका २६ जिल्लामा किसानलाई विश्वव्यापी जलवायु परिवर्तनको असर र सावधानीका साथै मौसमको पूर्वजानकारी दिने गरेको बताएका छन् ।
त्यस्तै नेपाल कृषि अनुसन्धान परिषदले धान, मकै, गहुँ तथा आलुमा जलवायु परिवर्तन अनुकूलन, रोगकिरा अवरोधक सहन सक्ने र बढी उत्पादन दिने नयाँ जातहरूको विकास गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस