आज र भोलि हल्का पानी पर्ने, शनिबारदेखि भारी वर्षाको सम्भावना


काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको र बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुनेछ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनअनुसार आगामी शनिबारसम्म वर्षाको सम्भावना छ । भोलि (शुक्रबार) दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का झरीको सम्भावना छ ।

राति कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

शनिबारदेखि भने मनसुन पुन: सक्रिय हुने देखिएको छ । शनिबार दिउँसो बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । यस दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics