वर्षाले धानबालीमा क्षति

चितवन– केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुगेको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए ।

उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ । उनले केही भागमा पाकेर काट्न तयार परेको धान पानीले ढलाएको बताए ।

यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए । लगातार परेको पानीमा डुबेर धान उम्रिएको उनको गुनासो छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोपेका थिए । केही दिनदेखिको पानीले काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनको भनाइ छ ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics