खयरका रुख ‘च्वाट्टै’ पार्न लगाउने वन अध्यक्ष र सचिव पक्राउ

फाइल तस्बिर ।

दाङ – दाङको राजपुर गाउँपालिका–१ स्थित सिरियानाका सामुदायिक वनका अध्यक्ष र सचिवकै मिलेमतोमा ८४ वटा खयरका सग्ला रुख काटिएको पुष्टि भएको छ । यो सँगै अध्यक्ष मतीबहादुर सुनार र सचिव ओमबहादुर पुन पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय देउखुरीका अनुसार दुबै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । कार्यालयका प्रमुख राजु क्षेत्री भन्छन्, ‘चुरे वन क्षेत्र अन्तर्गत पर्ने सामुदायिक वनमा ढलापडा रुख तथा काठ व्यवस्थापनका नाममा मनोमानी रूपमा सग्ला खयरका रुख काटिएको सार्वजनिक भएपछि घटनाको विस्तृत अध्ययन गर्न अनुगमन टोली खटाइएको थियो । अनुसन्धान गर्दै जाँदा पदाधिकारीकै मिलेमतो देखियो ।’

सहायक वन अधिकृत छोटेलाल चौधरीको नेतृत्वमा खटिएको वन कर्मचारीको टोलीले वन क्षेत्रमा काटिएका रुखको अनुगमन, प्रमाण संकलन, ठुटाहरूको बारेमा दुई दिन लगाएर लगत सङ्कलन गरेको उनी बताउँछन् ।

काटिएको ठुटा भेटिएपछि अध्यक्ष सुनार र सचिव पुनलाई पक्राउ गरिएको हो । सिरियानाका सामुदायिक वन उपभोक्ता समूहलाई १६६ वटा खयरको ढलापडा रुख काट्न आदेश दिए पनि सो आदेशविपरीत ढलापडाको नाममा खडा रुख काटिएको थियो ।

अनुमति बेगर दुई वटा खयर रुख काटिएको दाबी वन कार्यालयले नै गरेको थियो । सोही अभियोगमा स्थानीय मृगसिंह सुनारलाई पक्राउ गरेको थियो तर यो घटनामा जोडिएका थप दुई जना पक्राउ परेपछि पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

वनभित्रको बदमासी लुकाउन रुखको ठुटा जलाउने, स्याउला सोत्तरले पुर्ने जस्ता काम समेत त्यहाँ भएको पाइएको छ । गत साउन ५ गते डिभिजन वन कार्यालय देउखुरीमा दर्ता भएको वन समूहले असोज ७ गते साधारण सभा राखेर नै ढलापडा रुख कटान गर्नुपर्नेलगायतका निर्णय गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics