दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग

काठमाडौं – क्रसर व्यवसायीबाट मारिएका दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाइएको छ ।

उनको परिवारले बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले शहीद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग गरे ।

घटनाका मुख्य योजनाकारहरू अझै कारबाहीको दायरामा नआएकाले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने, दिलिपको हत्या भएको क्रसरसहित देशभरका अवैधानिक क्रसर उद्योग बन्द गराउनुपर्ने उनीहरूको माग छ ।

यस्तै चुरे क्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐन बनाउन, दिलीपको परिवारलाई राहत र कम्तीमा परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने उनीहरूको माग छ ।

ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री लामिछानेले मागहरूप्रति आफू सकारात्मक रहेको जवाफ दिएका छन् ।

ज्ञापनपत्र बुझाउन दिलीपका ८८ वर्षीय हजुर बुबा रामपृत महतो कोइरी, बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी, दिदीबहिनीहरू संगीता, लक्ष्मी, सिर्जना, भाइ ख्वाइस र भाञ्जा शुभम गृह मन्त्रालय पुगेका थिए ।

घर नजिकको औरही खोलामा अवैध उत्खननको विरोध गर्दा धनुषाको मिथिला नगरपालिका– ५ का दिलिप महतोको ५ पुस २०७६ मा टिपरले किचेर हत्या गरिएको थियो ।

यो मुद्दामा जिल्ला अदालत धनुषाले आरोपित ७ जनामध्ये ३ जनालाई दोषी ठहर गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics