हिउँचितुवालाई प्रचण्डको ५ करोड

हिउँचितुवा संरक्षण गर्न काठमाडौंमा आयोजना भएको दोस्रो हिउँचितुुवा कार्यबैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँचितुवा संरक्षणमा पाँच करोड खर्च गर्ने घोषणा गरेका छन् ।

विश्वमा नै संकटमा रहेको हिउँचितुवाको संरक्षण गर्नका लागी हिउँ चितुवा पाइने १२ मुलुकका वन तथा वातावरण र बन्यजन्तुसँग सम्बन्धित मन्त्रीहरुको बैठक काठमाडौंमा शुक्रबार सकिदैछ ।



बैठकमा प्रधानमन्त्री दाहालले पाँच वर्षको कार्ययोजना प्रस्तुत गर्दै हिउँ चिुतुवाको संरक्षण, चोरी सिकारी नियन्त्रण, मानव र हिउँचितुवा विचको द्धन्द्ध घटाउने भन्ने लगायतका विषयमा योजना प्रस्तुत गरेका छन् ।

पछिल्लो समय जलवायु परिवर्तनले हिउँ चितुवाको अस्तित्व संकटमा परेको छ । साथै मानवीय कृयाकलाप चोरी, शिकारी, मानव र हिउँचितुवाबीच हुने द्धन्द्धले यसको अस्तित्व संकटमा पर्दै गएको हो । बैठकमा मानव र हिउँचितुवा विचको द्धन्द्ध बढ्दै गइरहेको बताउदै बाघ संरक्षण समितिका सदस्य दिपक बोहोराले यस कुरालाई ध्यानमा राख्दै नयाँ योजना ल्याउनुपर्ने बताए ।

यसैगरी बनमन्त्री शंकर भण्डारीले नेपालमा हिउँचितुवाको संरक्षणका लागी हिउँचितुवा अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । उनले मानव र हिउँचितुवाबीच हुने द्धन्द्ध, प्राकृतिक विपत्ति, जलवायु परिवर्तन, चोरी शिकारी जस्ता कारणले हिउँचितुवाको संरक्षण हुन नसकेको भन्दै नियन्त्रणका लागी कडा कानुनि व्यवस्था गरिएको बताए ।

पाकिस्तानका जलवायु परिवर्तन मन्त्री जहिद हमिदका अनुसार पाकिस्तानमा पछिल्लो समय हिउँचितुवाको संख्यामा बृद्धि भएको छ । उनका अनुसार हिउँ चितुवा बढ्नुको मुख्यकारण स्थानिय समुदायको सहयोग हो ।

विश्वबाट हिउँ चितुवा लोप हुन नदिन संरक्षण र साझा उदेश्यलाई जोड दिँदै अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा नेपाल सहित भुटान , पाकिस्तान, अफगानिस्तान, काजकिस्तान, किर्गिजस्तान, मंगोलिया, भारत लगायत हिउँ चितुवा पाइने १२ देशका मन्त्री, उच्चपदस्थ अधिकारी र वन्यजन्तुविद्को सहभागिता रहेको छ ।

आगामी सेप्टेम्बरमा काजकिस्तानमा हुने हिउँचितुवासम्बन्धी पहिलो शिखर सम्मेलन कार्यक्रम हुने भएको छ । माघ ४ गते बुधबार देखी सुरु भएको अन्तर्राष्ट्रिय हिउँ चितुवा सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै शुक्रबार सम्पन्न हुँदैछ ।

नेपालमा हिउँचितुवा ३ सयदेखि ५ सयबीच रहेको अनुमान छ । यो वन्यजन्तु विश्वका १२ मुलुकमा पाइन्छ । विश्वमा यसको संख्या ४ हजारदेखि ६ हजार ५ सयसम्म रहेको अनुमान छ । यो नेपालको पूर्वको कञ्चनजंघा संरक्षण क्षेत्रदेखि पश्चिमको अपिनम्पा संरक्षण क्षेत्रभित्रका १२ निकुञ्ज, शिकार आरक्ष र संरक्षण क्षेत्रको हिमाली भेगमा पाइन्छ । यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics