वनबाट फैलिएको डढेलोले एक वृद्धको मृत्यु, तीन घर जले
- नेचर खबर
 
                                                        त्रिवेणी – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ। ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ। तीनवटा घर जलेर नष्ट भएका छन्।
आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो। ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले जानकारी दिए।
उनका अनुसार विक र सार्कीको एक–एक तले घर र कामीको दुई तले खरले छाएको घर जलेर नष्ट भएका छन्। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिए।
ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ। स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिए।
आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण सङ्कलन हुने उनले जानकारी दिए। आगलागीका कारण भने खुलेको छैन। दिन प्रतिदिन रुकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन्।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस