जलवायु परिवर्तनले नेपालमा निम्त्याएका मुद्दा उठाउन काठमाडौंमा अन्तर्राष्ट्रिय संवाद

काठमाडौं – जलवायु परिवर्तनले निम्त्याएका मुद्दा उठाएर विश्वलाई जानकारी दिने उदेश्यले बुधबारबाट काठमाडौंमा अन्तर्राष्ट्रिय संवाद हुँदैछ । यसको आयोजना नेपालले नै गर्न लागेको हो ।

यस कार्यक्रममा हिमाल, मानव र जलवायु परिवर्तनबारे विशेषज्ञहरूको दुई दिन सम्म संवाद गर्नेछन् । उक्त अन्तर्राष्ट्रिय संवाद चन्द्रागिरिमा हुनेछ ।

संवादले नेपाललगायत पर्वतीय देशले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या विश्वलाई जानकारी दिने र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिअन्तर्गतका कार्यक्रममा सहकार्यको वातावरण बनाउने लक्ष्य लिएको छ ।

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने राष्ट्रसंघको जलवायुसम्बन्धी निकाय जलवायु परिवर्तनबारे अन्तरसरकारी समिति (आइपिसिसी)अन्तर्गत वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भेरुल्स तथा बंगलादेश र भुटानका मन्त्रीहरू, विभिन्न देशका राजदूतलगायत सहभागी हुनेछन् ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले संवादले नेपालका लागि आफ्नो नेतृत्व देखाउने र विश्व जलवायु वार्तामा पर्वतीय संवादको नेतृत्व गर्ने एजेन्डालाई प्रतिबिम्बित गर्ने एजेन्डा सुनिश्चित गर्ने अवसर हुने बताए ।

नेपालले हिमाल संरक्षण र जलवायु परिवर्तनको संवेदनशीलतामा संयुक्त राष्ट्रसंघको सम्मेलनमा निरन्तर वकालत गर्दै आएको छ । ‘माउन्टेन पार्टनरसिप’ पर्वतीय जनताको जीवन सुधार गर्न र विश्वभरका पहाडी वातावरणको रक्षा गर्न समर्पित साझेदारको संयुक्त राष्ट्रसंघीय स्वेच्छिक गठबन्धन हो ।

‘संवादले पर्वतीय राष्ट्रका सरकार, सरोकारवाला र दातृ निकायलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र यसका समाधान सम्बन्धमा अझ गहन रूपमा बुझ्न विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न साथै साझा संकल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्नेछ,’ उनले भने ।

ढकालका अनुसार जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कामलाई सुदृढ समन्वय र प्राथमिकता दिने भन्ने छ । त्यस्तै, पर्वतीय देश र सम्बद्ध सरोकारवालालाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिअन्तर्गतका कार्यक्रममा सहकार्य गर्न वातावरण बनाउने लक्ष्य राखिएको छ ।

सम्मेलनमा २५ भन्दा बढी पर्वतीय देश, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासहित दुई सयजना सहभागी हुनेछन् । तीन प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुई प्लेनरी र सातवटा संवाद हुनेछ । ५० वक्ता हुनेछन् । पहिलो सत्रमा जलवायु विज्ञान र पर्वतीय तथ्य तथा तथ्यांकको विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव संकटासन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय संकटको विषयमा आवश्यक प्रमाण समावेश गरिनेछ ।

दोस्रो सत्रमा प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायमा केन्द्रित भएर छलफल गरिनेछ । त्यस्तै, तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरको खोजी गर्ने गरी मुख्यतः स्वच्छ र हरित ऊर्जामा लगानी वृद्धि गर्ने जलवायु वित्तलाई सहज र सघन बनाउने तथा अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय साझेदारीलाई अभिवृद्धि गर्ने खालका विषय समावेश गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)को ६०औँ सत्र र त्यस अवसरमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञहरूको संवादमा पर्वतीय समस्या समाधान गर्नका लागि ठोस मार्गचित्र र रणनीति तयार गर्न पनि यसले मद्दत गर्ने अपेक्षा लिइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics