समुद्रको पीँधमा पत्ता लागेको एउटा विशाल साङ्लो

काठमाडौं – तपाईँले साङ्लो त देखिराख्नु भएको छ । अझै यो गर्मीमा साङ्लोको हैरानी त खेपिराख्नुभएको होला । तर, तपाईले यस्तो साङ्लोको प्रजाती, त्यो पनि भयंकर ठूलो समुद्रमा भेटियो भन्दा पत्याउनुहुन्छ ? तर, अब पत्याउनु पर्ने भएको छ ।


इन्डोनेशियामा वैज्ञानिकहरूले समुद्रको गहिरो भागमा बस्ने एउटा ठूलो जीव भेटिएको घोषणा गरे । उनीहरूले बाहिरी हाड हुने त्यस्तो पानी जीवलाई एउटा विशाल साङ्लो जस्तो भनी व्याख्या गरेका छन् ।


नयाँ जीव बेथिनोमस प्रजातिको हो र यो गहिरो समुद्रमा बस्छ । यसको शरीरको माथिको भाग काठजस्तै सारो खालको हुन्छ । बेथिनोमस राक्सा (इन्डोनेशियाली भाषामा ‘एकदमै विशाल’) इन्डोनेशियाको समुद्री तट जाभा र सुमत्राको बीचमा रहेको सुन्डाको खाडीमा पाइएको हो ।


यो हिन्द महासागरको समुद्री सतहभन्दा ९५७ मिटरदेखि १,२५९ मिटरको बीचमा पाइएको हो । वयस्क हुँदा ३३ सेन्टिमिटर औसत भए यो जीवलाई आकारमा ‘अतिविशाल’ भनिन्छ । बेथिनोम प्रजातिका अन्य जीव टाउकोदेखि पुच्छरसम्म ५० सेन्टिमिटर पनि हुन्छन् ।


‘यसको आकार खासमा एकदमै ठूलो छ र बेथिनोमस प्रजातिमध्ये दोस्रो ठूलो जीव हो,’ इन्डोनेशियन इन्स्टिट्यूट अफ साइन्सेजका प्रमुख अनुसन्धानकर्ता कोनी मार्गरेथाले भने । विश्वमा यो प्रजातिका अहिलेसम्म पत्ता लागेका जम्मा सातवटा मात्रै जीव छन् ।

जूकिज नामक जर्नलमा बताइए अनुसार इन्डोनेशियाको गहिरो समुद्री क्षेत्रमा यस्तो खालको अनुसन्धान बिरलै भएका छन् र त्यहाँ बेथिनोमस पत्ता लागेको यो पहिलोपटक हो । लीपीका पशुशास्त्रका कार्यवाहक प्रमुख चाह्यो रहमादीले यो अन्वेषणले ‘इन्डोनेशियाको जैविक विविधताको क्षमता कति छ भनेर खुलासा हुन बाँकी नै रहेको’ संकेत गरेको बताए ।


लन्डनको न्याचुरल हिस्ट्री म्यूजियम एनएचएमका अनुसार गहिरो समुद्रमा पाइने आइसोपड्सहरू किन धेरै ठूला हुन्छन् भन्ने व्याख्या गर्न थुप्रै सिद्धान्तहरू छन् । एउटा सिद्धान्त अनुसार समुद्रको गहिरो भागमा बस्ने जनावरलाई धेरै अक्सिजन चाहिन्छ त्यसैले लामो खुट्टासहित उनीहरूको शरीर पनि ठूलो हुन्छ ।


अर्को कारण भनेको गहिरो समुद्रमा बस्ने हुँदा यिनीहरूलाई अन्य जीवको खतरा हुँदैन र सुरक्षित भएर ठूलो आकारमा हुर्किन पाउँछन् । साथसाथै, यो प्रजातिको शरीरमा कम मासु हुने भएकोले अन्य जीवको शिकार हुने सम्भावना पनि कम रहन्छ । बेथिनोमसको लामो एन्टेना र ठूलो आँखा हुन्छ जसका कारण अँध्यारोमा पनि राम्रोसँग देख्न सक्छ ।

तर अनौठो र डरलाग्दो देखिने भए पनि खासमा यो खतरनाक जीव होइन । यो जीवले समुद्रको तल मरेर रहेका जीवहरू खोजेर खान्छ । एनएचएमका अनुसार यो जीवलाई भोक कम लाग्छ किनभने जापानमा नियन्त्रणमा राखिएको एउटा विशाल आइसोपड पाँच वर्षसम्म केही नखाइ पनि बाँचेको बताइन्छ ।


इन्डोनेशियाको सरकारी निकाय लीपी, सिङ्गापुरको न्याश्नल युनिभर्सिटी र न्याचुरल हिस्ट्री म्यूजियमले यो अनुसन्धान गरेका हुन् । सन् २०१८मा भएको दुई साता लामो अभियानका क्रममा अनुसन्धान गर्ने उक्त टोलीले ६३ वटा फरक क्षेत्रका हजारौँ जीवहरू जम्मा गरेका थिए र दर्जनौँ नयाँ जीव पत्ता लगाएका थिए ।


उक्त टोलीका अनुसार बेथिनोमसको भाले र पोथी भेटिएको थियो र तिनीहरूको लम्बाइ ३६.३ सेन्टिमिटर र २९.८ सेन्टिमिटर रहेको छ । -एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics