प्रत्येक हिउँदमा नेपालको खडेरीसँग संघर्ष

बिश्व खडेरी रोकथाम दिवस विशेष

काठमाडौं – नेपालमा मनसुन भित्रिएको केही दिन मात्रै भयो । कोशी प्रदेशका ताप्लेजुङ सहितका केही हिमाली र पहाडी जिल्लामा मनसुन सुरुवातमै बाढी र पहिरोले क्षति पुर्यायो । ताप्लेजुङमा मात्रै ५ जनाको ज्यान लिएको छ दर्जनौं विस्थापित भएका छन् । तर, नेपाल भित्रिएको मनुसुन देशभर नपुग्दा अझै केही स्थानमा खडेरीले बाली सुकेका छन् । धान रोप्न र व्याड राख्न किसानले पाएकै छैनन् । कतै वर्र्षा अत्याधिक छ, कतौ खडेरीले धुलो उडिरहेको छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार यस पटक हिउँदमा पनि नेपालमा सरदर वर्षाको तुलनामा झण्डै २१ प्रतिशत मात्र वर्षा भयो । यस्तो हुनुलाई मौसम विज्ञहरूले ‘निकै कम’ बताउँदै त्यसलाई ‘चरम सुक्खा’ अवस्था भन्न सकिने प्रतिक्रिया दिएका थिए । नेपालमा हिउँद गणना हुने १५ मंसिरदेखि १७ फागुनको अवधिमा १२.५ मिलिमिटर मात्र पानी परेको थियो । विभागकै जलवायु मूल्यांकन शाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेल भन्छिन्, ‘गत हिउँदमा वर्षा उल्लेख्य भएन । नेपालमा हिउँद सुक्खा हुने क्रम बढ्दो छ ।’

के नेपालमा खडेरी बढ्दैछ ?
पछिल्ला घटनाक्रम हेर्ने हो भने नेपालमा खडेरीको दर बढ्दो क्रममा रहेको छ । हिउँद सुक्खामै बित्न थालेका छन् । जसले डढेलो लाग्ने क्रम उच्च हुँदै छ । एक तथ्यांक अनुसार मुलुकमा बितेका १८ वर्षमा १२ हिउँद सुक्खा भएको छ । यसले वातावरणीय सन्तुलन खलबलिने चिन्ता बढाएको छ । सधै पानी आउने तराइका कल र मोटर सुक्न थालेका छन् । जाडोयाममा वर्षा र हिमपातले बालीमा पार्ने सकारात्मक असरको चक्रीय प्रणाली प्रभावित भएको छ ।


त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्याल पछिल्लो समय हिउँदमा सुख्खापन बढेको बताउँछन् । भन्छन्, ‘नेपाललाई खेडेरीले च्याप्दैछ ।’ नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ । पछिल्ला झण्डै दुई दशकका हिउँदमा नेपालमा धेरैसजो याम सुख्खा पाइएका छन् ।


२०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिमिटर पानी परेको सरकारी तथ्यांक छ । २०६३ साल यता पाँचवटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले हिउँदअघि जारी गरेको सूचनामा तीन महिनाको हिउँदे मौसम आकलन गर्दै यसवर्ष सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको थियो । तर जनवरी महिनामै मौसम अधिकारीहरूले यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना टरेको भन्दै ‘हिउँदे खडेरी’ सामना गरिरहेको बताएका थिए । यसरी मौसमले नै विज्ञहरूलाई छल्न थालेको छ ।

पश्चिमी वायु कमजोर हुँदा हिउँदमा पर्याप्त वर्षा हुँदैन । पछिल्लो समय प्रत्येक हिउँदमा औसतभन्दा कम वर्षा हुनथालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । २०६४ देखि २०६८, २०७०, २०७२ देखि २०७४ र २०७७, २०७९ र २०८० को हिउँदमा औसतभन्दा कम वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालका लागि हिउँदमा औसत वर्षा ६० मिलिमिटर हुनुपर्छ । तर, २०६४ र २०६५, २०७२–०७४ र २०७७ सालमा औसतभन्दा धेरै नै कम वर्षाले खडेरीको अवस्था सृजना गर्यो । ती वर्ष ७५ प्रतिशत कम वर्षा भएको थियो । २०६५ सालमा औसतभन्दा धेरै नै कम १२ एमएम मात्रै हिउँदे वर्षा भएको विभागको तथ्यांकमा छ ।


सन् २०२१ मा एट्मस्फेरिक रिसर्च जर्नलमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनले नेपालमा खडेरी बढीरहेको देखाएको छ । पश्चिम, मध्य र पूर्वी क्षेत्रमा सन् २००५ देखि २०१७ मा क्रमशः १५, १७ र १५ प्रतिशतले खडेरी बढेको उक्त अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सन् १९८७ देखि २००४ सम्म भएको खडेरीको घटनालाई तुलना गर्दा गर्मीयाममा नेपालको मध्य क्षेत्रमा ५ गुणाले बढेको र पूर्वमा २ गुणाले बढेको त्यहाँ बताइएको छ । सो अनुसन्धान प्रतिवेदनकी लेखक कल्पना हमाल हुन् ।


विज्ञका अनुसार प्रशान्त महासागरमा विकसित हुने हावाको प्रणालीले विश्वकै मौसममा प्रभाव पार्छ । ‘ला–लिना (प्रशान्त महासगरमा बन्ने एउटा प्रणाली) हुँदा पूर्वी प्रशान्त महासगरमा भएको चिसो पानी भएको ठाउँमा पानी पर्दैन ।


यता युरोपियन युनियनको साइन्स एन्ड नलेच सर्भिसको ज्वाइन्ट रिर्सच सेन्टर (जेआरसी) ले सन् २०२२ मा प्रकाशित अनुसन्धान प्रतिवेदनले पनि मेडिटेरियन क्षेत्रमा खडेरी बढ्दा विश्वकै समग्र मौसमको चक्रीय प्रणालीलाई असर पार्न सक्ने उल्लेख गरेको छ ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics