अचम्मको कीरा धमिरा, जसले एकैदिनमा पार्छ ३०,००० अण्डा

काठमाडौं – धमिरा तपाईं हामीले देखिरहेको जीव हो । मौरी र कमिलाजस्तै यो जीव पनि रानीको नेतृत्वमा समूहमा बस्ने गर्छ । रानीको मुख्य काम नै अण्डा पार्ने हो । धमिराका कतिपय प्रजातिमा त रानीले प्रतिदिन ३० हजारसम्म अण्डा पार्न सक्छ । यसको अण्डा पार्ने यो विलक्षण क्षमता देखेर जीवविज्ञानीहरूले यसलाई अण्डा पार्ने मेशिनको संज्ञा पनि दिने गर्छन् ।

धमिराको गुँडलाई देवल भनिन्छ । यस्तो देवल सानोदेखि लिएर ६ मिटर अग्लोसम्म हुन सक्छ । रोचक त के छ भने, मिहिनी माटो र धमिराको र्यालले बनेको तथा सूर्यको तापले सेकिएको यस्तो देवल निक्कै बलियो हुने गर्छ । धमिराको देवलभित्र निक्कै धेरै कोठाहरू हुने गर्छन् । कतिपय जानकारहरू त धमिराको देवललाई वास्तुकलाको अनुपम नमूनाको रुपमा पनि लिने गर्छन् किनभने त्यहाँ हावा तथा पानीको निकासको लागि राम्रो प्रबन्ध गरिएको हुन्छ ।

धमिराको एउटा समूहमा केही सयदेखि दशौं लाखसम्म धमिराहरू रहन सक्छन् । उष्णप्रदेशीय घना जंगलहरूमा गएर हेर्ने हो भने, प्रति एकड क्षेत्रमा केही दर्जनदेखि हज्जारौंको संख्यामा पनि धमिराका देवलहरू हुन सक्छन् । धमिराका धेरै प्रजातिहरूमा कार्य विभाजन अनुसार धमिराको सामाजिक तह पनि निर्धारित हुन्छ ।

कमिला वा मौरीमा जस्तै धमिरामा पनि कामदार, बच्चाहरूको सुसारे, सन्तानोत्पत्ति गर्ने, सिपाही जस्ता विभिन्न कार्य विभाजन भएको हुन्छ । कामदार धमिराको काम गुँड निर्माण गर्ने तथा रानी र समूहका अन्य सदस्यहरूलाई खानेकुरा उपलब्ध गराउने हुन्छ । त्यसैगरी, सिपाही धमिराको काम चाहिँ शत्रुबाट समूहको रक्षा गर्ने हुन्छ । अरु धमिराको तुलनामा सिपाही धमिराको टाउको र बंगारा ठूलो हुन्छ ।

सन्तानोत्पत्ति गर्न सक्ने धमिरा अलि गाढा रंगको भाले र पोथी हुन्छ र यसकोे पखेटा पलाएको तथा आँखा पनि विकसित हुन्छ । सन्तान उत्पादन गर्न सक्षम भएपछि ती धमिराहरू जोडा बनाएर गुँडबाट बाहिर उड्ने गर्छन् र अनुकूल ठाउँमा गएर नयाँ गुँड निर्माण गर्ने गर्छन् । यसभन्दा अगाडि नै उनीहरूको पखेटा झरिसकेको हुन्छ । ती दुई भाले र पोथी धमिराबीचको संसर्गबाट थप हज्जारौं धमिराहरू जन्मिने गर्छन् र नयाँ समूहको निर्माण हुने गर्छ ।

यसरी सबैभन्दा पहिले समूह निर्माण गर्ने भाले र पोथी धमिरा राजा र रानी हुने गर्छन्, जसको मुख्य काम नै अण्डा उत्पादन गर्ने र सन्तान उत्पादनको कार्यलाई निरन्तरता प्रदान गर्ने हुन्छ । अरु धमिराहरू भन्दा धमिराको राजा र रानी बढी समयसम्म बाँच्ने गर्छन् । केही प्रजातिका धमिरामा त राजा–रानी धमिरा १० वर्षदेखि १५ वर्षसम्म बाँच्ने गर्छन् । रोचक त के छ भने, धमिराको समूहमा रानीको शरीरको आकार अन्य धमिराको तुलनामा निक्कै ठूलो हुने गर्छ । तुलना गरेर हेर्ने हो भने यो आकार एउटा कामदार धमिराको तुलनामा २० हजार गुनासम्म ठूलो हुन्छ । यसो हुनुको कारण चाहिँ उसको पेटमा उत्पादन हुने हज्जारौं अण्डाहरूले गर्दा नै हो । आफ्नो यो विशालकाय शरीरको कारण रानी धमिरा हलचल गर्न पनि सक्दैन । यो पूर्णतः सुसारे–कामदार धमिरामाथि निर्भर हुने गर्छ ।

अहिलेसम्म धमिराको २०० भन्दा बढी प्रजातिहरू पत्ता लागिसकेका छन् । धमिरा र कमिलामा धेरै कुराहरूको समानता हुन्छ । त्यसैले कतिपय मानिसहरूले धमिरालाई सेतो कमिला पनि भन्ने गर्छन् । धमिराको प्रिय आहारा नै रुख तथा सेलुलोस हुने पदार्थहरू हो । धमिराले रुखपात तथा काठले बनेको सामानहरूलाई भित्रभित्रबाट खाएर पूरै काम नलाग्ने बनाइदिन्छ । त्यसैले मानिसहरू धमिरालाई शत्रुको रुपमा व्यवहार गर्ने गर्छन् ।

धमिराको गोलोमुनि सुनको खानी हुन्छ !
अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानलाई पत्याउने हो भने अब हाम्रा डाँडा पाखातिर धमिराले लगाउने गोलो अर्थात् देवलको मुनि उत्खनन गर्नुपर्ने भएको छ । शोधकर्ताहरुका अनुसार धमिराको गोलो मुनि सुनको खानी हुनसक्छ । अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका शोधकर्ताहरुले गरेको पछिल्लो अनुसन्धान अनुसार कुनै खास क्षेत्रहरुमा सुनको खानी पत्ता लगाउनका लागि धमिराका देवलहरु, खयरका पात तथा माटोको स्थिति जस्ता महत्वपूर्ण स्थितिहरुमा ध्यान दिनुपर्दछ ।

शोधकर्ताहरुले अस्ट्रेलियाको कलगूर्लीस्थित सुनको एक खानी क्षेत्रस्थित सयौँ नमूनाहरु, माटो तथा खयरको पातका नमूनाहरुको विश्लेषण गरेका थिए । विश्लेषणबाट यस्ता नमूनाहरुमा रहेको सूनको तत्वले सुन धातु अर्गानिक कार्वनको प्रचूरता रहेको क्षेत्रमा धेरै पाइने तथ्य पुष्टि गरेको बताइएको छ । जुन ठाउँमा धेरै आद्रता हुन्छ त्यहाँ जिवाश्म सडिसकेपछि सुन फेला पर्दछ । हाल सुन फेला परेका क्षेत्रमा गहिराइसम्म उत्खनन गरिएमा अझै ठूलो परिमाणमा सुन पाइन सक्ने सम्भावना हुने समेत शोधकर्ताहरुको भनाई छ ।

शोधकर्ताहरुका अनुसार खयरको रुख तथा धमिरा समेत बाँझो जमिनमा अधिक मात्रामा वृद्धि हुन्छ र सुन पनि यस्तै ठाउँमा बढि मात्रा पाइने सम्भावना हुन्छ । क्यानडाको उत्खनन कम्पनी अंगकोरा गोल्डले यो शोध रिपोर्टको पुष्टि गरेको छ । कम्पनीले कम्बोडियाका देवलका झण्डै १ लाख १० हजार ढिक्काको नमूना संकलन गरी विश्लेषण गर्दा सात ठाउँमा सुन, तामा तथा मोलिब्डेनम जस्ता धातुहरुको भण्डार पत्ता लगाउन सफल भएको थियो । डि्रलिंग जस्ता अन्य पारम्परिक तरिकाले भने धमिराको देवलको नमूना संकलन गरी अनुसन्धान गर्दा सुनखानी पत्ता लगाउनु आर्थिक रुपमा बढि मितव्ययी हुने बताइएको छ । यस सम्बन्धी शोध जियोलोजी पत्रिकामा समेत छापिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics