विश्व बाघ दिवस : बाघको सङ्ख्या वृद्धि, संरक्षणमा चुनौती

काठमाडौं - आज विश्व बाघ दिवस । सन २०१० देखि नेपाले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनाेउँदै आएको छ । आज विभिन्न कार्यक्रमका साथ विश्व बाघ दिवस मनाइँदै छ ।

एक तथ्यांक अनुसार करिब सय वर्ष अघि विश्वमा बाघको सङ्ख्या १ लाखको हाराहारीमा थियो । एक दशक अघिसम्म बाघको सङ्ख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो । सोहीअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको छ ।

नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा सङ्ख्या दोब्बर बनाउन गरेको सङ्कल्प पनि पूरा गरेको हो । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । त्यहाँ १ सय २८ वटा बाघ छन् ।

त्यसै गरी बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ छन् । । गत वर्ष मङ्सिर १९ गते सुरु भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

पछिल्ला वर्षहरूमा नेपालमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ तर बाघ संरक्षणको चुनौती पनि कम छैन । बाघको प्रभावकारी व्यवस्थापन गर्न नसके मानव-बाघ द्वन्द्व बढ्ने अर्को जोखिम पनि उत्तिकै छ ।

आखिर बाघलाई यति धेरै महत्व किन दिइन्छ ? जिज्ञासा लाग्नु स्वाभाविक हो । कुनै समय जताततै पाइने बाघ पाइन्थ्यो । संरक्षण अभाव र बस्ती बिस्तारसँगै लोपोन्मुख प्राणीको सूचीमा बाघ पुगेको तथ्य हामी सबैलाई थाहै छ । २० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसंख्या १ लाखको हाराहारीमा रहेकामा यो संख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरूको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।

यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठौँ वर्ष बित्दैछ ।

बाघको महत्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदैछ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।

वातावरणीय सन्तुलन जंगली जनावरका लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो-मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षक–शिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।

बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अंग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनुपर्छ । यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।

बाघ दिवस मनाइरहँदा यसले बाघको संरक्षणको मात्र होइन, वनजंगल र अन्य पशुपन्छीका साथै मानव जीवनको कल्याणको महसुस प्रदान गर्छ । भावी पिँढी मुस्कुराउने र धर्ती माताको दीर्घायूको बाटो खुल्ला गर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics