भारतमा गिद्धको सङ्ख्या घट्नु र ५ लाख मानिसको मृत्यु हुनुबीच के सम्बन्ध छ ?

काठमाडाैं - कुनै समय भारतमा गिद्ध प्रशस्त र सबैतिर पाइने चरा थियो। फोहोरमा विचरण गर्ने यो चरा जनावरको सिनो खोज्दै फोहोर थुपार्न प्रयोग हुने क्षेत्रहरूमा उडिरहेको हुन्थ्यो। कहिलेकाँही यिनीहरू पाइलटहरूलाई त्रसित तुल्याउने गरी नै उड्न लागेको विमानको इन्जिनमा समेत तानिन्थे ।

तर दुई दशकअघिबाट भारतमा गिद्धहरू मर्न थाले। त्यसको कारण थियो बिरामी गाईबस्तुको उपचारमा प्रयोग हुने एक विशेष औषधि। सन् १९९० को दशकको मध्यसम्म ५ करोडको सङ्ख्यामा रहेको गिद्ध डिक्लोफेनाक नामक औषधिका कारण झन्डै शून्यको स्थितिमा पुग्यो। डिक्लोफेनाक जनावरको दुखाई कम गर्ने सस्तो गैर– स्टेरोइडल औषधि हो जुन गिद्धहरूका लागि भने घातक हुन्छ। यो औषधि प्रयोग भएका जनावरको मासु खाने चराहरूको मृगौला बिग्रिन्थ्यो र ती मर्थे।

सन् २००६ मा डिक्लोफेनाकको भेटेरिनरी प्रयोगमा प्रतिबन्ध लगाइएसँगै गिद्धको सङ्ख्या घट्ने क्रम कम भएको छ। तर पछिल्लो ‘स्टेट अफ इन्डियाज बर्डस्’ प्रतिवेदनका अनुसार कम्तीमा तीन प्रजातिहरूमा भने ९१ देखि ९८ प्रतिशतसम्मको दीर्घकालीन क्षति देखिएको छ।

एउटा नयाँ 'पिअर–रिभ्यूड' समीक्षा अध्ययनका अनुसार कुरा त्यतिमा मात्रै सकिँदैन। फोहोरमा विचरण गर्ने यी ठुला चराहरूको सङ्ख्या अनावश्यक रूपमा घट्दा घातक ब्याक्टेरिया र सङ्क्रमण फैलिने मौका पाएका छन्। ‘अमेरिकन इकोनोमिक एसोसिएसन’को जर्नलमा प्रकाशित अध्ययनका अनुसार त्यसले पछिल्लो पाँच वर्षको अवधिमा प्रतिवर्ष झन्डै ५ लाख मानिसको मृत्यु निम्त्याएको छ।

मानव स्वास्थसँग के सम्बन्ध छ ?
“गिद्धलाई प्राकृतिक सफाइकर्मी मानिन्छ, किनभने यसले ब्याक्टेरिया र रोगका कीटाणुयुक्त मृत जनावरलाई हाम्रो वातावरणबाट हटाउन महत्त्वपूर्ण भूमिका खेल्छ। गिद्ध नहुने हो भने रोग फैलिन सक्छ,” सिकागो विश्वविद्यालयको ह्यारिस स्कुल अफ पब्लिक पोलिसीका सह-प्राध्यापक समेत रहेका उक्त अध्ययनका सह-लेखक एयाल फ्राङ्क भन्छन्।

“हेर्दा सुन्दर र मायालाग्दो लाग्ने पशुपक्षीहरू मात्र होइन मानव स्वास्थको संरक्षणमा गिद्ध जस्ता पक्षीले खेल्ने भूमिकाको महत्त्व बुझ्नु पर्ने आवश्यकता पनि रहेको छ। हाम्रो जीवनलाई असर पार्ने गरी हाम्रो जैविक प्रणालीहरूमा तिनीहरू सबैको आआफ्नो भूमिका रहेको हुन्छ।

फ्राङ्क र उनका सह-लेखक अनन्त सुदर्शनले भारतमा गिद्धको सङ्ख्या अत्यधिक रहेका क्षेत्रहरू र ऐतिहासिक रूपमा नै गिद्धको सङ्ख्या कम रहेका क्षेत्रलाई दाँजेर, गिद्धको सङ्ख्या प्रशस्त हुँदा र नहुँदाको अवस्थाको मृत्यु दरबिच तुलना गरेका थिए। उनीहरूले रेबिजको खोपको बिक्री, जङ्गली कुकुरको सङ्ख्या र पीउने पानीमा रोगजन्य कीटाणुको स्तरको पनि जाँच गरेका थिए।

उनीहरूले सुन्निएको कम गर्ने औषधिको बिक्री बढेपछि र गिद्धको सङ्ख्या कम भएपछि कुनै समय अत्यधिक रूपमा गिद्ध पाइने क्षेत्रहरूमा मानव मृत्युदर ४ प्रतिशतसम्मले बढेको पाए। उनीहरूले सहरी क्षेत्रमा त्यसको असर धेरै पाए जहाँ ठुलो सङ्ख्यामा जनावरको सिनो फ्याँकिने गरिन्थ्यो।

लेखकहरूले सन् २००० र सन् २००५ को बीचमा गिद्धको सङ्ख्या कमी आएका कारण वार्षिक थप १ लाख मानिसको मृत्यु भएको अनुमान गरेका छन्। यसले वर्षेनि असामयिक मृत्युसँग सम्बन्धित ६९ अर्ब अमेरिकी डलरभन्दा धेरैको आर्थिक भार निम्त्याएको अनुमान उनीहरूको छ।

यी मृत्युहरू ब्याक्टेरिया र रोगको फैलावटसँग जोडिएका छन् जसलाई गिद्धहरूले वातावरणबाट हटाइदिन्थे। उदाहरणका निम्ति गिद्धहरू नहुँदा छाडा कुकुरहरूको सङ्ख्या बढेको र त्यसका कारण मानिसमा रेबिजको सङ्क्रमण बढेको देखियो।

त्यो समयमा रेबिज खोपको बिक्री बढेको मात्र नभइ अपुग समेत भएको थियो। गिद्धको दाँजोमा कुकुरहरू कुहिएका सिनोको सरसफाइमा प्रभावकारी देखिएनन्। त्यसले गर्दा ब्याक्टेरिया र रोग निम्त्याउने कीटाणुहरू बगेर वा ढल निकासको खराब व्यवस्थाका कारण खानेपानीमा मिसिने स्थिति आयो। र पानीमा दिशापिसाबमा पाइने ब्याक्टेरियाको सङ्ख्या दोब्बरभन्दा पनि अधिक हुन गयो।

“भारतमा गिद्धको विनाश भएको घटनाको नतिजा कुनै पनि प्रजातिको विनाशबाट मानिसहरूले कसरी उल्टाउनै नसकिने र अप्रत्याशित मूल्य चुकाउनुपर्छ भन्ने स्पष्ट उदाहरण हो,” वारिक विश्वविद्यालयमा सह-प्राध्यापक समेत रहेका उक्त अध्ययनका सह-लेखक सुदर्शन भन्छन्।

“यो मामिलामा नयाँ रसायनहरूलाई जिम्मेवार थिए तर बासस्थानको क्षति, वन्यजन्तुको कारोबार र अहिले जलवायु परिवर्तन; यिनीहरूले पनि जनावरमाथि प्रभाव पारेका छन्। जनावरहरूमा असर हुँदा मानवमा पनि असर परेको छ। त्यसैले यसको मूल्य बुझ्दै स्रोत तथा नीति नियमहरूलाई यस्ता महत्त्वपूर्ण प्रजातिहरूको संरक्षणतर्फ केन्द्रित गर्न आवश्यक छ।”

भारतमा पाइनेमध्ये सेतो घाँटी भएको गिद्ध, भारतीय गिद्ध र रातो टाउको हुने गिद्धका प्रजातिले सन् २००० को दशकको आरम्भदेखि नै तिनको सङ्ख्यामा दीर्घकालीन कमी भोग्नु परेको छ। यिनीहरूको सङ्ख्या क्रमशः ९८ प्रतिशत, ९५ प्रतिशत र ९१ प्रतिशतले कम भएको छ। इजिप्सियन गिद्ध र प्रवासी गिर्फ्फन गिद्धको सङ्ख्या पनि घटेको देखिए पनि त्यस्तो विनाशकारी अवस्था भने छैन।

भारतमा सन् २०१९ मा गरिएको पशुपक्षी गणनामा संसारकै सबैभन्दा धेरै ५० करोडभन्दा बढी पशुपक्षी पाइएका थिए। गिद्ध उच्च दक्षताका साथ फोहोर सफा गर्ने पक्षी हो जसमाथि किसानहरू जनावरको सिनो सफाइका निम्ति ऐतिहासिक रूपमै निर्भर हुने गर्थे। अनुसन्धाताहरूका अनुसार भारतमा गिद्धको सङ्ख्यामा देखिएको कमी पक्षी प्रजातिका निम्ति हालसम्मकै सबैभन्दा तिव्र र अमेरिकाबाट फिरन्ते परेवा लोप भएको घटनापछिको सबैभन्दा ठूलो गिरावटको अवस्था हो।

‘स्टेट अफ इन्डियन बर्ड्स’ प्रतिवेदनका अनुसार भारतमा बाँकी रहेका गिद्धहरूलाई संरक्षित क्षेत्रभित्र राखिएको छ र उनीहरूको खानामा दुषित हुन सक्ने घरपालुवा पशुभन्दा मरेका जङ्गली जनावर बढी छन्। निरन्तरको यो कमीले ''गिद्धहरूमाथि मडारिइरहेको खतरालाई दर्शाउँछ, त्यसो हुँदा मानवकल्याणमा पनि नकारात्मक प्रभाव पर्ने भएकाले यो चिन्ताको विषय भएको हो।''

विज्ञहरू भेटेरिनरी औषधिहरू अझै पनि गिद्धका निम्ति प्रमुख खतरा भएको चेतावनी दिन्छन्। जनावरका सिनोहरू कम भेटिनु, जनावरका मृत शरीर गाडिने क्रम बढ्नु र जङ्गली कुकुरसँगको प्रतिस्पर्धाजस्ता अन्य कारणले समस्यालाई झनै बढाएका छन्। उत्खनन् र खानी सञ्चालनले पनि गिद्धका कतिपय प्रजातिको वासस्थानमा असर पुर्‍याउन सक्छ।

के गिद्धहरू पहिलेकै अवस्थामा फर्केलान्? केही आशाजनक सङ्केतहरू देखिए पनि भन्न कठिन छ। गत वर्ष नियन्त्रित वातावरणमा प्रजनन् गराएर बचाइएका र 'स्याटलाइट ट्याग' लगाइएका २० वटा गिद्धहरूलाई पश्चिम बङ्गालको एउटा बाघ आरक्षमा छाडिएको थियो। दक्षिण भारतमा हालै गरिएको एक सर्वेक्षणमा ३०० भन्दा धेरै गिद्धहरूको अभिलेखीकरण गरिएको थियो। - बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics