एनटीएनसीको कोर फन्डबाट वन मन्त्री दम्पती नर्वे सयरमा

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को कोर फन्डबाट वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, उनकी कान्छी श्रीमती र निजी सचिवले नर्वे सयर गरेका छन् । आफ्नो भ्रमणमा एनटीएनसीको फन्डबाट श्रीमती र निजी सचिवलाई समेत लगेका हुन ।

एनटीएनसीबाट एक जना अधिकृत तथा प्रतिनिधि मात्रै गए हुने सामान्य छलफल कार्यक्रममा मन्त्री शाही ठकुरी, उनकी श्रीमती बसना शाही, निजी सचिव भीम विष्टलाई लिएर कोषका सदस्य सचिव डा. नरेश सुवेदी नर्वे सयरमा निस्किएका हुन् । उनीहरूसँगै कोषका अधिकृत डा. मधु क्षेत्रीसमेत थिए । यो टोली अघिल्लो शुक्रवार गएर गत बिहीबार एक साता भ्रमण गरेर फर्किएको हो ।

नर्वेस्थित युनिभर्सिटी अफ इन्ल्यान्डले सहयोग गरिरहेको नोरपार्ट परियोजनाको समाप्तिपछि बाँकी रहेको रकमबाट उनीहरूको खर्च व्यवस्थापन गरिएको हो ।
विश्वविद्यालयले सहयोग गरेको नोरपार्ट परियोजनाले काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ । हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधि अध्ययनरत छन् । कोर फन्डमा जम्मा हुने परियोजनाको बाँकी रहेको रकम दुरुपयोग गरी नर्वे भ्रमणमा निस्किएपछि आयोजकसमेतले चासो राखेका थिए ।

यो परियोजना सदस्य–सचिव सुवेदीले आफैले नेतृत्व गर्दै आएका छन् । उनले नै यो सबै भ्रमणको योजना र तयारी गरेका थिए । सोह्र महिनाका लागि सदस्य सचिवमा नियुक्त गरिएका डा. सुवेदीको कार्यकाल सकिन करिब चार महिना बाँकी छ । सदस्य–सचिव नियुक्तिको अधिकार वन मन्त्रीलाई छ ।

नेचर खबरलाई प्राप्त विवरण अनुसार, एनटीएनसीले तोकेको भत्ता तथा अन्य सुविधामा मन्त्रीकी श्रीमती र निजी सचिवले समेत भ्रमण गरेका हुन् । मन्त्री शाही ठकुरी कोषको अध्यक्षका हैसियतमा नर्वेको भ्रमण गरे पनि श्रीमती र निजी सचिवको खर्चका बारेमा कोष तथा परियोजनामा सहयोग गरिरहेको विश्वविद्यालयसमेतले चासो राखेको थियो ।
स्रोतका अनुसार आयोजकले परियोजना समापन कार्यक्रममा एनटीएनसीका एक जना प्रतिनिधिलाई पठाएको निम्तोमा मन्त्री ठकुरी पुगेका हुन् ।

भ्रमणमा भएको हवाई आवतजावत, होटेल, खाना तथा अतिरिक्त भत्तासहित सबै सेवा सुविधा कोषको कोर फन्डबाट गरिएको हो । स्रोतका अनुसार, होटेल, खाना, यातायात, हवाईजहाजबाहेक अतिरिक्त भत्तासमेत सबैलाई छुट्याइको थियो ।
विश्वविद्यालयको एकेडेमिक कार्यक्रममा दम्पतीसहित मन्त्री पुगेपछि कोषभित्रै असन्तुष्टि बढेको छ । ‘यो भ्रमणलाई मन्त्री शाही र सचिव सुवेदीले निजी र पारिवारिक भ्रमणका रूपमा दुरुपयोग गरे,’ स्रोतले भन्यो ।

एनटीएनसीका सदस्य–सचिव डा. नरेश सुवेदी भने भ्रमण फलदायी भएको बताउँछन् । उनलाई भ्रमणका बारेमा भएको खर्च र दुरुपयोगबारे प्रश्न गर्दा सबै खर्च आयोजकले र मन्त्रीकी श्रीमतीको खर्च आफैले व्यहोरेको दाबी गरे ।

तर नेचर खबर स्रोतका अनुसार, डा. सुवेदीको यो दाबी झुटो हो । स्रोत भन्छ, ‘कुनै पनि रकम आयोजक वा व्यक्तिले व्यहोरेका छैनन । सबैको खर्च एनटीएनसीबाट गरिएको छ । विश्वविद्यालयले कोषका एक जनाको खर्च मात्रै व्यहोरेको छ ।’

विश्वविद्यालयले कार्यक्रम पनि एक दिनको लागि मात्रै तय गरेको थियो । नर्वेका वातावरण मन्त्रीसँग भेट्ने कार्यक्रम तय गरिएको बताइए पनि नर्वेका वातावरण मन्त्री भने कार्यक्रममै आएनन् । त्यसैले केही घण्टा मात्रै छलफल गरी सो बैठक सकिएको थियो ।

युनिभर्सिटी अफ इन्ल्यान्ड नर्वेका प्राध्यापक मोर्टेन ओडेनले एनटीएनसीका प्रतिनिधिलाई ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर र आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकनसहितका लागि छलफलमा निम्ता गरेका थिए ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics