पाथीभरामा तीर्थयात्रीको चाप, एकैदिन १००० बढीले गरे दर्शन (फोटो फिचर)

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन हजार बढी तीर्थयात्री पुगेका छन् । आज आइतबार पनि विहानैबाट तीर्थयात्रीको चाप रहेको पाथीभरामा रहेका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि यो मौसममा अब दैनिक तीर्थयात्रीको चाप बढ्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

केही दिन पछि नवरात्र सुरु हुने र मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले तीर्थयात्रीको सहजताका लागि फुङलिङ नगरपालिकाले यस क्षेत्रमा बन्दहड्ताल निषेध गर्ने निर्णय पनि गरिसकेको छ ।

पाथीभरामा आउने तीर्थयात्रीको संख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस काउण्ट) गर्ने सिसी क्यामेरा समेत जडान गरिएको छ ।

अन्य दिनको तुलनामा शनिबार र मंगलबार भने पाथीभरामा भक्तजनको चाप निकै बढ्ने गरेको छ । अन्य दिनमा पनि तीर्थयात्री पुगिरहन्छन् । वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् ।

भक्तजनको आगमन बढेसँगै पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने जस्ता प्रबन्धलाई व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी थप व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

हेरौं राजेन्द्र महतले आइतबार पाथीभरामा लिएका तस्बिरहरू


















नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics