जिम्बावेले २०० वटा हात्ती मारेर किन नागरिकलाई खुवाउँदैछ ?

काठमाडौं – जिम्बावेमा चार दशकको सबैभन्दा खराब खडेरीपछि तीव्र भोकमरी फैलिएको छ । यसको समाधान खोज्दै सरकारले २ सय वटा हात्ती मारेर भोकमरीबाट पीडित नागरिकलाई मासु वितरण गर्ने तयारी गरेको छ ।

जिम्बावे सरकारका मन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाए अनुसार जिम्बावेले सन् १९८८ पछि पहिलोपटक जंगली जनावर मारेर नागरिकलाई मासु वितरणको योजना बनाएको हो ।

‘एल निनो’ मौसमी प्रणालीका कारण सुरू भएको खडेरीले दक्षिणी अफ्रिकामा बाली उत्पादन नहुँदा झन्डै सात करोड जना मानिस चरम भोकमरीमा पुगेका संयुक्त राष्ट्रसंले जनाएको छ ।

जिम्बावेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु प्राधिकरणका प्रवक्ता तिनाशे फरावोले अरू विकल्प नभेटेपछि हात्ती मारेर खडेरीबाट प्रभावित समुदायमा मासु वितरण गर्न लागिएको बताए ।

जिम्बावेमा ८४ हजार वटाभन्दा धेरै हात्ती छन् । प्राधिकरणका प्रवक्ता फरावोले देशले अहिले ५५ हजार वटा हात्ती मात्रै धान्न सक्ने बताए । एकातिर जङ्गलमा हात्तीको भीडभाड कम गर्ने र अर्कोतिर भोकमरीबाट केही राहत हुने भएकाले यो उपाय उत्तम रहेको सरकारको दाबी छ ।

८४ हजार हात्तीमा दुई सय वटा मार्नु भनेको समुद्रबाट एक थोपा पानी निकाल्नु जस्तै भएको पनि फरावोको जिकिर छ ।

चर्को खडेरीका कारण वनजंगल र पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु बस्तीतर्फ आउने र मानव–वन्यजन्तु द्वन्द्व बढ्न सक्ने सम्भावना बढेको पनि खबरमा उल्लेख छ । गएको वर्ष जिम्बावेमा हात्तीको आक्रमणबाट ५० जनाको ज्यान गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics